देउताको डरले गोठमा बस्दै, जुम्लाका महिला


दिलमाया शाही
जुम्ला ः जुम्लाको तिला गाउँपालिका ५ डोग्रीगाउकी १९वर्षिया बाटुल्लीत रावत हरेक महिनाको सात दिन महिनावारी हुँदा उनी गोठमै रात बिताउछिन ।उनी मात्रै होइन महिनावारीका बेला दुई छोरा र छोरी पनि गाई गोठमै रात बिताउछन । महिनावारीई हुदा घरमा बसदा अनिष्ट हुने मान्यता छ। उनी त एउटा उदाहरण मात्रै हुन्। डोग्री गाउका महलिा र किशोरीहरू महिनावारी हुँदा गोठमै रात बिताउछन । तिलागाउपालिका ५ को डोग्री गाउ सबै भन्दा बिगट ठाउमा पर्छ जहा कुनै संस्था पुगेको पाइदैन , उनीहरुले सरसफाइमा ध्यान दिए देवता रिसाउँदैनन् भनेर सचेतना नपाएकै कारण महिनावारी हुँदा गोठमा बस्ना बाध्य भएका छन । कुनै लाई आमा महिना वारी हुदा बच्चा समेत गोठमा बस्छन भन्न सुन्दा अचम्म लाग्न सक्छ ,तर यो कर्णालीको वास्तविकता हो। गर्मीमा होस् या हिउँदको माइनस् १५ डिग्री सेल्सियसमा होस । महिनावारी भएका महिला र किशोरीलाई राति सुत्न गोठ बाहेकको अर्को विकल्प छैन। महिनावारीका बेलाघरमा बस्दा हात खुट्टा भाँचिने पोटदुख्ने लगायतका बिभिन्न समस्या . हुने धामी(झाँक्रीले बताइदिँदा महिला मानसिक रूपमै छाउपडी प्रथाको सिकार भएका छन्।
छाउपडी प्रथाको तालिम महिलालाई भन्दा पनी धामी झाँक्रीलाई आबश्यक

महिलालाई मात्र हुने महिनावारीलाई विभिन्न परिभाषामा व्याख्या गरिएको पाइन्छ। जुम्लामा छुई भन्ने चलन छ भने जारकोटमा बाहिर सर्नु भनिन्छ, कतै पाखा सर्ने पनि भन्छन् त कतै रजस्वला भनिन्छ। जे नाम दिइए पनि महिनावारी एक प्राकृतिक प्रकृया हो। यदि महिला महिनावारी नहुने हो भने आमा बन्ने शौभाग्य पनि प्राप्त हुने थिएन। तर जुम्ला लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले पनि महिनावारीलाई नकारात्मक रुपमा लिने चलन छ। त्यसैले महिनावारी भएको बेला छाउपडीमा छुट्टै राखिन्छ। छाउ हुनु फूल फुलेर फल लाग्नुसरह प्राकृतिक नियम भए पनि पुरातनवादी सोचले हाम्रो समाज थला पर्दै गएको छ। छाउपडी प्रथाले यति गहिरो जरो गाड्नुको मूलकारण हो (धर्मसँगको सम्बन्ध। यो एक हिन्दू धर्मसँग जोडिएको प्रथा हो। महिनावारी भएकोबेला महिलाहरू शारीरिक रुपले कमजोर हुन्छन् र तिनलाई आराम चाहिने भएकोले चुलोचौका र खेतबारीको कामबाट अलग राखिनुपर्छ भन्ने सोचले यो प्रथा बसाएको कतिपयको तर्क छ। तर, यो प्रथाका अन्ध समर्थकहरूले महिनावारी भएको बेला महिला अपवित्र हुन्छ भन्ने अर्थ लगाए। महिनावारी भएको समयमा परिवारका सदस्यलाई छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाएर पाप लाग्ने जस्ता रुढीवादी र अन्धविश्वासका कारण यो कुप्रथालाई झेल्न महिलाहरू बाध्य छन्। रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले निरन्तता पाउँदै आएको छ। महिनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा गोठमा बस्ने गर्छन्। तिलागाउपालिका ५ डोग्री गाउकी स्थानिय महिला सरस्वती रावत भन्छिन देउता हामी मान्छेले पुजेका हौ तर देउताकै कारण गोठमा बस्न बाध्य बनाउने धामी झाँक्री हुन । उनीहरुले घरमा बसभनेको खण्डमा हामी सरसफाई गरेर बस्न तयारछौ ।

यदि देउता रिसाए आँखा, कान, फुटाउँदै घर अनिष्ट हुने भन्ने मान्यताले किशोरीहरूमा त्रास फैलिएको छ। अर्कोतिर महिनावारीका बेला चिसोले ज्यान जाने त्रासका साथै यौन दुर्व्यवहारमा परिन्छ भन्ने पिरलो रहेको स्थानिय महिलाले बताए । दुर्गम जिल्लाका गाउँहरूमा महिनावारी र सुत्केरी हुँदा घरभित्र नबस्ने, सरसमान छुनु हुँदैन भन्ने चलन कायम हुँदा यहाँका महिलाहरूले महिनापिच्छे पीडा भोग्नुपरेको छ। सामाजिक दवाबका कारण छाउपडीलाई निरन्तरता दिन महिला बाध्य छन्। यस्तो समस्या ग्रामीण भेगका शिक्षित र अशिक्षित महिलामा धेरै रहेको पाइनछ । सुत्केरी भएको बेला १ महिना र महिनावारी भएको बेला ७ दिनसम्म घरबाहिर छाउगोठ वा छाप्रोमा बस्छन्।महिनावारी हुँदा कम्तीमा ७ दिन सम्मको महिलाहरूको खाना भनेको नुनको धुलो र सुक्खा रोटी मात्र हो। दुई तलाको घरमा तल्लो तला गाई, भैसी बाँध्ने गरिन्छ भने माथिल्लो तलामा मानिस बस्ने गर्दछन्। गाई, भैंसीको मलमूत्र रहेको ठाउँमा बस्दा दुर्गन्धका कारण स्वास्थ्यमा समस्या आउने गरेको स्वास्थ्यकर्मीहरुको भनाइछ ।
जंगलको बिचमा रहेको डोग्री गाउ जंगली जनावरको त्रास

डोग्री गाउकी गोहीली रावत भन्छिन छाउगोठमा बस्दा महिलाको मानिस भन्दा पनी जंगली जनावरको त्रासमा पनि रहनुपर्छ। सर्प, बाघ, भालु लगायतका जंगली जनावरको सिकार हुनु पर्छकी भन्ने त्रास बढी छ। केही महिला छाउगोठमै बस्ददा बलात्कृत भएको भन्ने पनि बिभिन्न समाचार बाट सुन्छौ झन डर लाग्छ उनले भनिन ्। कतिपय महिलाले छाउगोठमा आगलागी लगायतका घटनामा परेर महिलाहरूले मृत्युवरण गरिसकेका छन्।
वर्षौ खेदी पाठेघरको समस्या झल्र्दै , डोग्री गाउका महिला

डोग्री गाउ तिलागाउपालिकाको ग्रामीण बस्ती हो । जहा ४६ घरदुरीको संख्या छ । त्यहा बस्ने महिला झण्डै ८० जना छन । उनीहरु मध्य एक दुइ जना बाहेक सबैमा पाठेघरको समस्या छ ।उमेर ४० नागेकी गोहीली रावतले भनिन, मेरो पाठेघर खसेको धेरै भयो पहिले दुख्ने मात्रै गथ्यो अहिले हिड्न समेत दिदैनन । उनी भन्छीन यस्तो समस्या भोगेर बाँचु भन्दा मर्न पाए हुन्थ्यो जस्तो लाग्छ । उनले थपिन हामी संग यस्तो उपचार गर्ने आर्थिक छैन हाम्रो बस्ती स्वास्थ्य शिवर हुर्दैन टाढा शिविर संञ्चालन भएपनि म हिडेर जान सक्दिन ,। उनी एक उदारण मात्र हुन उनी जस्तै त्यहाका धेरै महिलाको पिडा उस्तै छ । छाउ बार्दा हुने विभिन्न स्वास्थ्य समस्यामध्ये पाठेघरको समस्या प्रमुख छ।महिनावारी हुँँदा पोषिला खानेकुरा खाना नदिनु, धेरै भारी बोक्ने लगायतले महिलामा पाठेघर खस्ने समस्या बढेको छ। ग्रामीण भेगका महिलामा घरायसी कामको चाप, अधिकांश समय उकालो ओराले गर्नुपर्ने भएले पाठेघरमा फोहोर जम्मा हुने गर्दछ। जसले पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी देखिएको छ । स्वास्थ्य चेतना र अज्ञानतासँगै लाजका कारण जुम्लाको ग्रमिण बस्तीमा बस्ने महिलाले पाठेघरको समस्या लुकाउने गर्छन्। जसका कारण यसकोे भयावह अवस्था देखिएको डोग्री गाउकी महलिा स्वयमसेविका लालशोभा रावतको भनाइ छ।

त्यस्तै छुई भएको समयमा गोठमा बस्नु, उमेर नपुग्दै बिहे गर्ने, गर्भवती तथा सुत्केरी भएको बेला गह्रौ भारी बोक्ने सरसफाइमा ध्यान नदिने, कुपोषण लगायतका कारणले पाठेघर खस्ने समस्या हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण प्रसाद सावकोटा बताए। उनले भने गरिबी तथा जनचेतनाको अभावले धेरै महिलाहरूमा पाठेघर खस्ने समस्या हुने गरेको छ। विशेषगरी पिछडिएका समुदाय, दलित, अशिक्षित र गरिबीको चपेटामा परेका महिलाहरूमा पाठेघर खस्ने समस्या विकराल देखिन्छ। सामाजिक अपहेलनाका भयले र तथा लाजका कारण रोग लुकाएर बस्ने महिलाको संख्या अझ विकराल छ। स्थानीय सरकारले विभिन्न कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउने कामलाई निरन्तता दिन जरुरी रहेको छ।विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा अभियान सञ्चालन भइरहेका छन्। तर सामजिक कु(संस्कारमा हुर्केका धेरैजना अझै भित्री मनबाट परिर्वतन हुन सकेका छैनन्।

द्वन्द्वकालमासमेत छाउपडी प्रथा हटाउन ठूलो प्रयास भयो। तर पनि नसकिएको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महतले¬) बताइन। उनले भनिन ,’जबसम्म हाम्रा महिलाका मनभित्रका छाउगोठ भत्किदैनन तब सम्म देवी, देवताको मान्यता रहन्छ, । उनले भनिन ,तबसम्म यस्ता खालका सामाजिक कुरीतिसँग लड्न ठूलो बल प्रयोग गरे पनि सम्भव हुँदैन’, उनी भन्छन्, ’छाउपडी प्रथाले निम्त्याएको सामाजिक समस्यासँगै शारीरिक, स्वास्थ्य, मानसिक, शैक्षिक समस्याबाट महिला ग्रसित हुन बाध्य छन्।’
प्रजिअ थापा भन्छन ः छाउपडीविरुद्ध उजुरी नै आउँदैन,
नेपाल सरकारले छाउपडी प्रथा एक अन्धविश्वास होे भन्दै छाउपडी प्रथा उन्मुलन निर्देशिका २०७४ ले हिंसा ठहर गरेको छ। यदि यस्ता काम गरेमा वा गराएमा दण्ड जरिवाना तोकेको छ। छाउपडीविरुद्ध हत्तपत्त कसैले उजुरी नै गर्दैन। यसैले, कानुनको कार्यान्वयन पनि मुश्किल छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा भन्छन्, ’उजुरी नै आउँदैन, कसलाई समात्ने? कसलाई कारबाही गर्ने?’ यसलाइ्र्र जनचेतनाको माध्यबाट न्युनिकरण गर्नु पर्छ

छाउगोठमा राख्ने घरपरिवारकै सदस्य हुन्छन्। उनीहरूविरुद्ध उजुरी गर्ने आँट गाउँका प्रायः महिलामा हुन्न। आफनै दाजुभाई, श्रीमान, सासु—ससुराविरुद्ध कसैले उजुरी नै दिँदैनन्। उजुरी नै नआउँदा कानुन छ भन्दै समातेर सजाय गर्न मिल्दैन, उहाको तर्क छ। महिनावारी हुदा सामाजिक मान्यता र वर्षौदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा घरवाहिर बस्नुपरेको बाध्यता रहेको महिलाको गुनासो छ । महिनावारी (छुई) हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् भने त्यस क्षेत्रका महिलाहरू घरको आँगनमा बस्दै आएका छन्। शिक्षित महिलाहरू पनि महिनावारी हुँदा घर बाहिर बस्दै आएका छन्। महिनावारी हुँदा घर बाहिर बस्नुपर्ने कुप्रथा उनापानी गाउँमा मात्र नभई जिल्ला स्तरबाटै अन्त्य हुनेगरी जनचेतना फैलाउन आवश्यक रहेको छ।
लामा सामुदायले बार्दैनन् छुई
छुई बारेर गोठमा बस्ने चलन भौगोलिक क्षेत्र विशेष कर्णाली र सुदूरपश्चिम प्रदेशमा भए पनि सबै जातिमा भने यो प्रवृत्ति पाइन्न। मुगु ,जुम्ला, हुम्लाका जारकोट लगायका सबै ठाउँमा बस्ने लामा बौद्धमार्गी समुदायले भने महिनावारीलाई सामान्य प्रक्रिया जस्तै मान्दै आएका छन्। लामा समुदायको बसोवास रहेको छ। एउटै ठाउँमा बस्ने लामा समुदायमा महिनावारी हुँदा पनि घर बाहिर बस्ने चलन नभएको समाजिक बिकास कार्यालय जुम्लाका सामाजिक बिकास अधिकृत बलविर सुनारले बताए । उनले भने ,महिनावारी महिलामा हुने सामान्य प्रक्रिया हो। तर, अन्य समुदायले यसलाई संस्कारको रूपमा लिएका कारण महिलाहरूले दुःख पाएका हुन ।
पहिले भन्दा केही सुधार
संघीय संरचनापछि देश तीन तहमा विभाजित भएको छ। स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार। पहिलेको तुलानामा स्थानीय सरकारले छाउपडी न्यूनीकरणकाविरुद्ध योजनाबद्ध काम गरिरहेका छन्। महिनावारी अर्थात छुई हुँदा कम्तीमा ७ दिन छाउ गोठमै बस्दै आएकी महिला तथा किशोरीहरू आजभोलि ३ दिनपछि घरभित्रै जाने गरेका छन्। जुम्लाको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महतले¬) बताइन । उनले भनिन, केही महिला गोठमा होइन घरमा बस्न थालेका छन । उनले भनिन्, महिनावारी हुँदा आमा गोठमा बस्दा बच्चाको समेत स्वास्थ्यमा असर पर्नेे भएका कारण महिनावारी हुँदा गोठमा होइन सुरक्षित कोठामा राख्ने अभियानमा नगरपालिका लागि परेको छ।गाउँपालिका, महिला तथा बालबालिको हितमा काम गर्ने संस्थासंँग समन्वय गरी छाउपडी मुक्त गाउँपालिका बनाउन लागी परेको छ।
कानुनको पालना हुँदैन
सर्वोच्च अदालतले २०६२ वैशाख १९ गते छाउपडीलाई कुप्रथाका रुपमा ब्याख्या गर्दै यसको अन्त्य गर्न सरकारलाई आदेश दिएको थियो। त्यसपछि सरकारले छाउपडी प्रथा उन्मुलनसम्बन्धि निर्देशिका २०६४ जारी गरेको थियो। त्यसैमा टेकेर नयाँ मुलुकी अपराध संहिता २०७४ मा पनि रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने व्यवस्था गरिएको छ। संहिताको दफा १६८ को उपदफा ३ मा भनिएको छ, ’महिनावारी वा सुत्केरी अवस्थामा महिलालाई कुनै किसिमको भेदभाव गर्नु हुदैन। उपदफा ४ मा यस्तो किसिमको भेदभाव गर्नेलाई तीन महिना कैद र तीन हजार जरिवाना वा दुवै सजायको ब्यवस्था गरिएको छ। त्यस्तै सरकारी कर्मचारीले यस्तो अपराध गरेमा थप तीन महिना कैदको ब्यवस्था उपदफा ५ मा गरिएको छ।’ तर पनि कर्णाली प्रदेशका जिल्लामा अधिकांश शिक्षितका घरमा नै महिनावारी हुँदा छाउ वार्ने चलन कायम रहेको छ। जनप्रतिनिधिदेखि शिक्षक राजनीतिक दलका परिवारमासमेत महिनावारी हुँदा बाहिर सर्ने चलनमा विश्वास गर्छन्।