हुम्ला–बाजुरा सीमा विवादको असर मुगुमा, कर्णाली कोरिडोर बन्द हुदा पर्यटक समेत प्रभावित
मुगु: छिमेकी जिल्ला हुम्ला र बाजुराबीच देखिएको सीमा विवाद चर्किँदै जाँदा त्यसको असर मुगुमा समेत परेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु र खत्याड गाउँपालिकाका स्थानीयवासीलाई आवतजावत, विकास निर्माणका सामग्री ढुवानी तथा दैनिक उपभोग्य वस्तु आपूर्तिमा समस्या भएको छ।
कर्णाली कोरिडोर बन्द भएपछि रारा घुम्न आउने पर्यटक तथा हुम्ला–मुगु आवतजावत गर्ने यात्रुहरू समेत प्रभावित भएका छन्।
हिमाली गाउँपालिका ३ लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयमा भएको विवादमा सहमति कार्यान्वयन नभएको भन्दै जेठ १० गतेदेखि कर्णाली कोरिडोर पूर्ण रूपमा बन्द गरिएको हो। आन्दोलनरत पक्षले वैशाख ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबीच भएको सहमति कार्यान्वयन नभएको आरोप लगाएको छ।
ज्ञापनपत्रमार्फत स्थानीयमाथि भएका चोरी, सिकारी, लुटपाट तथा तोडफोडका घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको उपचार खर्चको व्यवस्था गर्न माग गरिएको छ।
कर्णाली कोरिडोर बन्द हुँदा मुगुको सोरु र खत्याड गाउँपालिकाका नागरिकलाई अन्तरजिल्ला आवतजावतमा समस्या परेको सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए। उनका अनुसार खाद्यान्न, तरकारी लगायत अत्यावश्यक सामग्री ढुवानीसँगै विकास निर्माणका कामसमेत प्रभावित भएका छन्।
“असार मसान्त नजिकिँदै गर्दा विकास आयोजनाका काम सम्पन्न गर्नुपर्ने समय हो। हार्डवेयर सामग्रीलगायत निर्माण सामग्री ढुवानीमा समस्या हुँदा आयोजनामा असर परेको छ,” अध्यक्ष शाहीले भने।
कर्णाली कोरिडोर बन्द हुँदा बाजुरा र हुम्ला मात्र नभई मुगुका नागरिकसमेत प्रभावित भएको उनले बताए।
यसैबीच आन्दोलनरत पक्षले सरकार, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजलाई पीडितको न्यायका पक्षमा सहयोग गर्न आग्रह गरेको छ।
त्ययस्तै ता बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीका अनुसार प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर हुम्ला र बाजुराका स्थानीयबीच विवाद उत्पन्न भएको हो। विवादका कारण कोरिडोर बन्द भएपछि नागरिकमा परेको समस्यालाई ध्यानमा राख्दै अन्य घटनाको कानुनी प्रक्रिया अघि बढिरहेको र सडक खुलाउने पहल भइरहेको उनले बताए।









