बम विस्फोटमा खुट्टाको पैताला गुमाएका १४ वर्षीय बालकको उपचारमा आर्थिक अभाव, सहयोगका लागि परिवारको अपिल

जुम्ला :जुम्लाको हिमा गाउँपालिका–२, ओदीका १४ वर्षीय बालक बलबहादुर रोकायाको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगका लागि सबैसँग अपिल गरेको छ।

कक्षा ६ मा अध्ययनरत बलबहादुर द्वन्द्वकालीन समयमा पाइपभित्र रहेको सकेट बम विस्फोट हुँदा गम्भीर घाइते भएका थिए। उक्त दुर्घटनामा उनले कलिलो उमेरमै आफ्नो दाहिने खुट्टाको पैताला गुमाउनुपरेको छ। बाल्यकालमै यस्तो पीडादायी घटनाको सामना गर्नुपरेका बलबहादुर अहिले जीवनको कठिन संघर्षसँग जुधिरहेका छन्।

उनको हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा उपचार भइरहेको छ। अस्पतालले उपचारको प्रारम्भिक चरणमा महत्त्वपूर्ण सहयोग गरेको परिवारले जनाएको छ। त्यस्तै, रक्तदाता तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको सहयोगले पनि उपचारमा केही राहत पुगेको छ।

यसैबीच, हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले अस्पतालमै पुगेर बालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले गाउँपालिकाको तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उक्त रकम तिहारपछि उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ।

चिकित्सकका अनुसार बलबहादुरको हालसम्म दुईदेखि तीनवटासम्म शल्यक्रिया सम्पन्न भइसकेका छन्। तर, उनको स्वास्थ्यमा थप सुधार ल्याउन अझै उपचार आवश्यक रहेको छ। दैनिक महँगा औषधि प्रयोग गर्नुपर्ने र घाउको नियमित सफाइ तथा उपचार गर्नुपर्ने भएकाले खर्च निरन्तर बढिरहेको छ।

उपचारमा लाखौँ रुपैयाँ खर्च लाग्ने भएपछि सामान्य आर्थिक अवस्थाको परिवारलाई खर्च जुटाउन निकै कठिन भएको छ। एकातिर छोराको स्वास्थ्य सुधारको चिन्ता, अर्कोतिर उपचार खर्चको अभावले परिवार थप समस्यामा परेको छ।

छोरालाई निको पारेर पुनः सामान्य जीवनमा फर्काउन चाहने बुबा दलबहादुर रोकायाले देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनी, समाजसेवी, बुद्धिजीवी र सहयोगी मनहरूलाई मानवीय भावनाका साथ आफूले सक्ने सहयोग गरिदिन हार्दिक अपिल गर्नुभएको छ।

सानो सहयोगले पनि एउटा बालकको उपचारमा ठूलो आशा जगाउन सक्छ। बलबहादुरको थप उपचारमा आर्थिक सहयोग गरेर उनको जीवनमा आशा र मुस्कान फर्काउन परिवारले सबैसँग आग्रह गरेको छ।

सहयोग गर्न इच्छुक महानुभावहरूले उनका बुबा दलबहादुर रोकायाको नेपाल इन्भेस्टमेन्ट बैंकको क्यूआर कोडमार्फत आर्थिक सहयोग गर्न सक्नुहुनेछ।

थप जानकारी तथा सम्पर्क:दलबहादुर रोकाया (बुबा)
मोबाइल नम्बर: ९७६२८३१५७७ मा मानवीय सहयोग गरी दिन हनु अनुरोध छ ।तपाईहरुको  सानो सहयोग बलबहादुरको उपचार र भविष्यका लागि ठूलो सहारा बन्ने छ ।

सम्बन्धित समाचार