अविरल वर्षाका कारण नाग्म–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध, खुलाउने प्रयास जारी
मुगु:लगातारको अविरल वर्षासँगै आएको पहिरोका कारण मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, ताल्चास्थित नाग्म–गमगढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान करिब ९ः३० बजे ताल्चा क्षेत्रमा माथिबाट लेदोसहित ढुङ्गा र माटो खसेर पहिरो गएपछि उक्त सडक खण्डमा सवारीसाधन तथा पैदल यात्रुको आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिएका छन्।
सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ ताल्चास्थित विमानस्थल सुरक्षा गार्डबाट प्रहरी नायब निरीक्षक डम्बर अधिकारीको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरी टोलीले स्थानीय तह तथा सडक विभागसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको जनाएको छ।
पहिरो गएको स्थान ताल्चा विमानस्थलबाट करिब ६ सय मिटर दक्षिणतर्फ रहेको बताइएको छ। सडक खुलाउन आवश्यक पहल भइरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
लगातारको वर्षाका कारण जिल्लामा अत्यधिक चिसो बढेपछि वृद्धवृद्धा, बालबालिका तथा पशुचौपायामा समेत समस्या देखिएको छ। वर्षाले किसानले कात्तिक महिनामा भित्र्याएको अन्नबाली र घाँससमेत भिजेपछि समस्या भएको छायाँनाथ रारा नगरपालिका–३ का कृषक कुम्बरसिंह खड्काले बताएका छन्।
सडक अवरुद्ध हुँदा मुगुस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटकसँगै मुगुबाट सुर्खेत, नेपालगञ्ज र काठमाडौं जाने यात्रु तथा सवारीसाधनसमेत प्रभावित भएका छन्।अवरुद्ध सडक खुल्न नसक्दा स्थानीय बासिन्दा, पर्यटक तथा लामो दूरीका यात्रुले थप सास्ती खेप्नुपरेको छ।








