मुगुको सेरी गाउँका आगलागीपीडितलाई सीएमसी नेपाल र हेरेन्डेक नेपालको राहत

मुगु। मुगुको खत्याड गाउँपालिका–२ स्थित सेरी गाउँमा भएको भीषण आगलागीबाट सर्वस्व गुमाएका दुई परिवारलाई सीएमसी (CMC) नेपाल र हेरेन्डेक (Herendeck) नेपालले राहत सामग्री वितरण गरेका छन्।

केही समयअघि गाउँमा भएको आगलागीबाट स्थानीय शिवचन्द्र बुढा र धनबहादुर बुढाको परिवार प्रभावित भएका थिए। आगलागीका कारण उनीहरूको घर, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा लगायतका सम्पूर्ण भौतिक सम्पत्ति जलेर नष्ट भएका थिए। आगलागीपछि घरबारविहीन बनेका परिवारलाई दैनिक जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले दुवै संस्थाले संयुक्त रूपमा राहत सामग्री उपलब्ध गराएका हुन्।

मानव अधिकार तथा विकास केन्द्र, मुगुका कर्मचारी नवराज रावतका अनुसार आगलागीपीडित परिवारलाई मानवीय सहयोगस्वरूप राहत सामग्री वितरण गरिएको हो।

संस्थाहरूले पीडित परिवारलाई दैनिक जीवनयापनका लागि आवश्यक लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री हस्तान्तरण गरेका छन्। विकट भौगोलिक अवस्था र चिसो मौसमका कारण कठिनाइ भोगिरहेका परिवारका लागि प्राप्त सहयोगले तत्कालीन आवश्यकता पूरा गर्न केही सहजता मिलेको पीडित शिवचन्द्र बुढाको परिवारले जनाएको छ।

आगलागीबाट दुई परिवारको घर तथा सम्पत्ति नष्ट भएपछि सेरी गाउँ नै शोकमा डुबेको छ। वर्षौंको मेहनतबाट आर्जन गरेको सम्पत्ति गुमाउँदा पीडित परिवार गम्भीर संकटमा परेका छन्।

यसैबीच, पीडित परिवारको दीर्घकालीन पुनर्स्थापना र जीवनयापनलाई सहज बनाउन स्थानीय सरकार, विभिन्न संघसंस्था तथा सहयोगी निकायलाई आवश्यक राहत र पुनर्निर्माणमा सहयोग गर्न स्थानीय बुद्धिजीवीहरूले आग्रह गरेका छन्। उनीहरूले विपद्को यस घडीमा पीडित परिवारलाई सहयोग गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।

सम्बन्धित समाचार