मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित
मुगु:भौगोलिक विकटता र आर्थिक अभावका कारण सहज रूपमा स्वास्थ्य सेवा लिनबाट वञ्चित मुगुका दुर्गम बस्तीका नागरिकले आफ्नै गाउँमा निःशुल्क स्वास्थ्य परीक्षण, उपचार र औषधि पाएका छन्। छायानाथ रारा नगरपालिका–४ र ५ अन्तर्गत भामवाडा र कार्कीवडाका ६ हजार १०० जना नागरिकले गाउँमै सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका हुन्।
दुर्गम क्षेत्रका नागरिकलाई सहज र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेल्थघर प्रालिको सहजीकरणमा शिविर सञ्चालन गरिएको हो। शिविरमा छाया नेपाल र हिमाली ग्रामीण युवा सामुदायिक विकास केन्द्र, मुगुले निःशुल्क औषधि उपलब्ध गराएका थिए भने जिल्ला अस्पताल मुगुले प्राविधिक सहयोग गरेको थियो।
शिविरमा पाँच जना विशेषज्ञ चिकित्सक र चार जना सहायक चिकित्सकसहितको टोलीले विभिन्न रोगको स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो।
हेल्थघर प्रालिका संस्थापक अध्यक्ष सरोज रोकायाका अनुसार भौगोलिक कठिनाइ र यातायातको असहजताका कारण सामान्य उपचारका लागि समेत टाढाका स्वास्थ्य संस्थामा पुग्नुपर्ने बाध्यता भएका नागरिकलाई लक्षित गरी बस्तीमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
“भौगोलिक विकटता र यातायातको असहजताका कारण धेरै नागरिक नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित हुनुपरेको छ। आफ्नै बस्तीमा उपचार पाउँदा समयमै रोग पहिचान गर्न र सम्भावित जटिलताबाट जोगिन ठूलो मद्दत पुगेको छ,” अध्यक्ष रोकायाले भन्नुभयो।
शिविरमा स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क पाएपछि स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन्। दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
छाया नेपालका कर्णाली प्रदेश प्रमुख मीनबहादुर रावलले दुर्गम क्षेत्रका नागरिकलाई उपचारको अवसर उपलब्ध गराउन तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।
शिविरमा विशेषगरी दम, उच्च रक्तचाप, शरीर दुख्ने, हाडजोर्नीसम्बन्धी समस्या तथा आँखासम्बन्धी रोगका बिरामीहरू बढी भेटिएको चिकित्सक अर्जुन भामले जानकारी दिनुभयो।
भौगोलिक विकटताका कारण स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकका लागि गाउँमै सञ्चालन हुने यस्ता निःशुल्क स्वास्थ्य शिविर प्रभावकारी बनेका छन्। यसले समयमै स्वास्थ्य परीक्षण र उपचार पाउने अवसर प्रदान गर्नुका साथै आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने बाध्यता कम गर्न सहयोग पुर्याएको छ।








