कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डायलाइसिस सेवाले बिरामीलाई राहत, न्युरो सेवा विस्तारको आवश्यकता

जुम्ला :कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा सञ्चालित मिर्गौलासम्बन्धी डायलाइसिस सेवाले बिरामीलाई राहत पुगेको छ। यसअघि डायलाइसिस सेवा लिन जिल्लाबाहिर जानुपर्ने बाध्यता रहेका बिरामीले अहिले आफ्नै ठाउँमअ उपचार पाउन थालेपछि आर्थिक तथा भौतिक कठिनाइ कम भएको हो।

विशेषगरी आर्थिक अवस्था कमजोर भएका मिर्गौलाका बिरामीलाई प्रतिष्ठानमा सञ्चालित डायलाइसिस सेवाले ठूलो सहयोग पुगेको छ। उपचारका लागि बाहिर जानुपर्दा यातायात, बसोबास र उपचारमा अतिरिक्त खर्च गर्नुपर्ने अवस्था थियो। कतिपय बिरामीका लागि आर्थिक अभावकै कारण नियमित उपचार गराउनसमेत कठिन हुने गरेको थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. बिनमर बिष्टका अनुसार हाल प्रतिष्ठानमा नौ जना बिरामीले डायलाइसिस सेवा लिइरहेका छन्। तीमध्ये तीन जना बिरामीले सातामा दुईपटक डायलाइसिस गराउँदै आएका छन्। मिर्गौलासम्बन्धी समस्याबाट पीडित बिरामीका लागि नियमित डायलाइसिस आवश्यक पर्ने भएकाले आफ्नै क्षेत्रमा सेवा उपलब्ध हुनु महत्त्वपूर्ण भएको उनले बताए।

प्रतिष्ठानमै उपचार गर्न पाउँदा बिरामीलाई घरबाटै आउजाउ गर्न सहज भएको र बाहिर जानुपर्ने बाध्यता कम भएको निर्देशक बिष्टको भनाइ छ। दुर्गम क्षेत्रका बिरामीका लागि स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध हुनु उपचारको निरन्तरताका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ।

न्युरो सेवाको अभावले बिरामीलाई बाहिर जानुपर्ने बाध्यता

डायलाइसिस सेवाले बिरामीलाई राहत दिए पनि प्रतिष्ठानमा अझै केही महत्त्वपूर्ण विशेषज्ञ सेवा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ। विशेषगरी टाउको तथा स्नायुसम्बन्धी समस्या भएका बिरामीको उपचारका लागि न्युरो सेवा आवश्यक रहेको निर्देशक बिष्टले बताए।

उनका अनुसार न्युरोसम्बन्धी उपचारका लागि आवश्यक जनशक्ति उपलब्ध छैन ।  त्यस सम्बन्धित उपकरणको व्यवस्था गर्नसमेत कठिनाइ भएको छ। यसका कारण टाउको तथा स्नायुसम्बन्धी जटिल समस्या भएका बिरामीलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था छ।

भौगोलिक रूपमा विकट कर्णालीका बिरामीका लागि विशेषज्ञ उपचार लिन बाहिर जानु आर्थिक र भौतिक दुवै हिसाबले चुनौतीपूर्ण हुने गरेको छ। त्यसैले प्रतिष्ठानमा न्युरोसम्बन्धी विशेषज्ञ जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्न सके स्थानीयस्तरमै उपचार सेवा विस्तार गर्न सहयोग पुग्ने देखिन्छ।

त्यस्तै आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका परिकल्पनाकार नरेश भण्डारीले प्रतिष्ठानमा सञ्चालित डायलाइसिस सेवाको अवस्थाबारे अनुगमन गरेका छन्।

अनुगमनका क्रममा भण्डारीले डायलाइसिस सेवा लिइरहेका बिरामीसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्था, उपचारमा प्राप्त सुविधा तथा सेवा प्रवाहका विषयमा जानकारी लिएका थिए। उनले डायलाइसिसका लागि प्रयोग भइरहेका मेसिन तथा उपलब्ध उपचार सुविधाबारे पनि जानकारी लिएका हुन ।

बिरामीसँगको भेटघाटका क्रममा उनले प्रतिष्ठानबाट प्रदान भइरहेको स्वास्थ्य सेवाको अवस्था बुझ्नुका साथै आगामी दिनमा थप गर्नुपर्ने सेवाबारे चासो व्यक्त गरेका थिए।

भण्डारीले जुम्ला जस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा प्रतिष्ठानले विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै टाउको तथा स्नायुसम्बन्धी उपचार सेवा पनि विस्तार गर्न आवश्यक पहल गर्नुपर्ने बताए। दुर्गम क्षेत्रका नागरिकले सामान्यदेखि जटिल रोगको उपचारका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता कम गर्न प्रतिष्ठानको सेवा विस्तार आवश्यक रहेको उनको भनाइ थियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन गरेपछि जुम्ला सहित आसपासका जिल्लाका मिर्गौलाका बिरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको छ।अहिले  मुगु,कालिकोट र हुम्लाका बिरामी समेत प्रतिष्ठानमा उपचारका लागी आएका छन ।

तर, डायलाइसिस जस्ता विशेषज्ञ सेवा उपलब्ध भए पनि न्युरोसम्बन्धी उपचारको अभावले केही बिरामीलाई अझै अन्यत्र जानुपर्ने अवस्था छ। आवश्यक विशेषज्ञ जनशक्ति, उपकरण र पूर्वाधारको व्यवस्थापन गर्न सके कर्णालीका नागरिकले आफ्नै क्षेत्रमा थप विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन ।दुर्गम भूगोल, आर्थिक कठिनाइ र स्वास्थ्य संस्थासम्मको पहुँचमा देखिने चुनौतीलाई ध्यानमा राख्दै प्रतिष्ठानको सेवा विस्तारलाई प्राथमिकता दिनुपर्ने देखिन्छ। डायलाइसिस सेवाको निरन्तरता, गुणस्तर र आवश्यक विशेषज्ञ सेवाको विकासले कर्णाली क्षेत्रका बिरामीको उपचार पहुँच सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

सम्बन्धित समाचार