करेन्ट लागेर गम्भीर घाइते विद्युत् कर्मचारी हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज लगियो
जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा करेन्ट लागेर एक विद्युत् कर्मचारी गम्भीर घाइते भएका छन्।
जिल्लाको पातारासी गाउँपालिका१ गढीगाउँ निवासी ३४ वर्षीय लालबहादुर एडी स्थानीय चुकेनि जलविद्युत्को लाइन जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका हुन्।
२०८३ असोज २८ गते पातारासी गाउँपालिका १ को वडा कार्यालय नजिकै विद्युत् लाइन जोड्ने क्रममा अचानक करेन्ट लागेपछि उनी विद्युत् पोलबाट खसेका थिए। पोलबाट खस्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको र बोल्नसमेत नसक्ने अवस्थामा गम्भीर घाइते भएको जनाइएको छ।
घटनापछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको थियो। त्यहाँ उपचारपश्चात् थप उपचारका लागि असोज ३० गते दिउँसो ३ बजेर ४७ मिनेटमा नेपाली सेनाको NA065 नम्बरको हेलिकप्टरमार्फत नेपालगन्जस्थित सञ्जीवनी अस्पताल लगिएको हो। उनी सोही दिन साँझ ४ बजेर १७ मिनेटमा नेपालगन्ज पुर्याइएको जनाइएको छ।








