मुगुबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन हुँदै
मुगु । मुगुको सदरमुकाम गमगढीबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन हुने भएको छ। रारा छायाँनाथ यातायात प्रा।लि। मुगु र बटालियन यातायात प्रा।लि। काठमाडौंको सहकार्यमा आगामी मंसिर २० गतेदेखि सिधा बस सेवा सञ्चालन गर्न लागिएको हो।
छायाँनाथ यातायात प्रा।लि। मुगुका सचिव सन्तोषबहादुर शाहीका अनुसार उक्त सेवा बटालियन यातायातको बसमार्फत सञ्चालन हुनेछ। रारा छायाँनाथ यातायात प्रा।लि।ले सार्वजनिक गरेको सूचनाअनुसार अब गमगढीबाट काठमाडौंसम्म सिधा यात्रा गर्न सकिनेछ।
यसअघि मुगुबाट काठमाडौं जाने यात्रुहरू जुम्ला वा सुर्खेत पुगेर अर्को सवारीसाधनको प्रतीक्षा गर्नुपर्ने बाध्यता थियो। सिधा बस सेवा सञ्चालनमा आएपछि यात्रुहरूलाई राजधानी काठमाडौं आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ।
विशेषगरी बिरामी, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा अन्य यात्रुहरूलाई यस सेवाबाट सुविधा पुग्ने विश्वास गरिएको छ। साथै, मुगु र काठमाडौंबीचको यातायात सम्पर्क थप सहज र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
यातायात कम्पनीका अनुसार टिकट बुकिङ, बस छुट्ने समय, भाडादर तथा अन्य विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।
मुगुबाट काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन हुने भएपछि स्थानीयवासीमा खुसी छाएको छ। यस सेवाले यात्रुको समय र झन्झट कम गर्नुका साथै राजधानीसँगको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।






