मुगुमा तीनतले घरमा आगलागी, अन्नपात र लत्ताकपडा जलेर नष्ट
मुगु : मुगुको खत्याड गाउँपालिका ५ लमेटा गाउँमा आगलागी हुँदा एक घरको माथिल्लो तलामा राखिएका अन्नपात तथा लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
मंसिर ९ गते साँझ करिब ५ः२५ बजे स्थानीय अम्मर बुढाको ढुङ्गा–माटोले बनेको र टिनले छाएको तीनतले घरको माथिल्लो तलामा अचानक आगलागी भएको थियो। आगलागीबाट उक्त तलाको कोठामा राखिएका अन्नपात तथा लत्ताकपडा जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन। स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
घटनाबारे खत्याड गाउँपालिका ५ का वडाध्यक्ष चित्रबहादुर बुढाले प्रहरी चौकी श्रीकोटलाई जानकारी गराएका थिए। घटनास्थल प्रहरी चौकीबाट करिब तीन घण्टा पैदल दूरीमा दक्षिणतर्फ पर्ने र रातिको समय भएकाले प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको थिएन।
प्रहरीका अनुसार मंसिर १० गते बिहान करिब ७ बजे प्रहरी हवल्दार सङ्क लाल गिरीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
आगलागीको कारण तथा क्षतिको थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जनाएका छन्।








