जुम्लामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः पूर्वसांसद सेजुवालद्वारा र्यालीलाई सम्बोधन, हिंसाविरुद्ध एकजुट हुन अनुरोध
जुम्ला: जुम्लामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, २०८३ को शुभारम्भ भएको छ। कार्यक्रमका प्रमुख अतिथि पूर्वसांसद कान्तिका सेजुवालले र्यालीलाई सम्बोधन गर्दै हिंसामुक्त, विभेदरहित, सुरक्षित र न्यायपूर्ण समाज निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताइन्। उनले हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रूपमा सञ्चालन हुने यस वर्षको अभियानले ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ जनाएको बताइन्।
उनले पछिल्लो समयमा संविधान, कानुन तथा विभिन्न नीतिगत व्यवस्थाका बाबजुद घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, छाउपडी, जातीय विभेद, मानव बेचबिखन तथा डिजिटल माध्यमबाट हुने हिंसा अझै गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको उल्लेख गरिन्। उनले नेपाल प्रहरी तथा कानुन कार्यान्वयन गर्ने निकायलाई आग्रह गर्दै हिंसा प्रभावित व्यक्तिको उजुरीलाई संवेदनशीलतापूर्वक ग्रहण गरी शीघ्र संरक्षण र न्यायको प्रत्याभूति गराउन अनुरोध गरिन्।
त्यस्तै, जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले सरकारले लैङ्गिक हिंसा निवारणसम्बन्धी कानुन तथा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताए। उनले यो अभियान १६ दिनमा मात्र नभई सधैँ प्राथमिकतामा राख्न जरुरी रहेको बताए।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यले जुम्लाका दुर्गम क्षेत्रमा नागरिकको पहुँच सुनिश्चित गर्न सबै लाग्नुपर्ने बताइन्। उनले न्याय पहुँचवालाका लागि मात्रै नभई प्रत्येक नागरिकका लागि समान रूपमा उपलब्ध हुनुपर्नेमा जोड दिइन्। उनले हिंसा प्रभावित व्यक्तिले न्याय खोज्ने क्रममा थप पीडा र असुरक्षा भोग्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।
त्यस्तै, सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोपबहादुर बुढाले लैङ्गिक हिंसाविरुद्धको अभियानले नागरिकको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्ने बताए। उनले भने, “सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य सुदृढ गर्दै हिंसा प्रभावित नागरिकको संरक्षण र न्यायमा पहुँच विस्तार गर्न जरुरी छ।” उनले यो अभियान नियमित गर्नका लागि सबै निकाय जिम्मेवार हुनुपर्ने बताए।
जुम्लामा लैङ्गिक हिंसाविरुद्धको अभियान सफल पार्नका लागि निवारणमा क्रियाशील सरकारी निकाय, विकास साझेदार तथा नागरिक समाजले साझा प्रतिबद्धता जाहेर गरेका छन्।
लैङ्गिक हिंसा अन्त्यका लागि कानुन र सरकारी प्रयाससँगै परिवार, विद्यालय, समुदाय तथा सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै सहभागी सरोकारवालाको टोलीले प्लेकार्डसहित र्याली निकालेर बजार परिक्रमा गरेको थियो।
१६ दिने अभियानलाई र्याली, सभा र नारामा मात्र सीमित नराखी वर्षभरि सञ्चालन हुने कार्यक्रम, सेवा सुधार, बजेट व्यवस्थापन र संस्थागत जवाफदेहितासँग जोड्नुपर्ने जुम्लाका सरोकारवालाहरूको माग छ। १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म सञ्चालन हुनेछ। ‘पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ अभियान अगाडि बढाइएको छ।










