मौन पीडादेखि आत्मविश्वासको यात्रासम्म :लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको जीवनमा मनोपरामर्शको भूमिका

जुम्ला :एउटा मौन पीडा, जसलाई सुन्ने कोही चाहिन्छ । बाहिरबाट हेर्दा उनी सामान्य देखिन्छिन्। परिवारका सदस्यसँग बोल्छिन्, घरका काम गर्छिन्, कहिलेकाहीँ मुस्कुराउँ छन् पनि। तर उनको मनभित्र एउटा यस्तो पीडा लुकेको हुन्छ, जसलाई शब्दमा व्यक्त गर्न उनलाई निकै कठिन हुन्छ। विगतमा भोगेको हिंसा, अपमान, डर र असुरक्षाका सम्झनाले उनलाई पटकपटक सताइरहन्छन्। राति निद्रा पर्दैन, मन अशान्त हुन्छ, कसैसँग खुलेर कुरा गर्न मन लाग्दैन। कतिपय अवस्थामा त आफूले नै केही गल्ती गरेको हो कि भन्ने आत्मग्लानिले समेत सताउँछ।
उनको पीडा केवल शारीरिक चोटमा सीमित छैन। त्यो पीडा उनको आत्मसम्मान, आत्मविश्वास, सम्बन्ध, सपना र भविष्यप्रतिको आशासँग जोडिएको छ। उनी चाहन्छि । कसैले उनको कुरा सुनिदेओस्, उनको भावनालाई बुझिदेओस् र उनलाई दोषी होइन, सम्मानको हकदारका रूपमा स्वीकार गरिदेओस्।
तर विडम्बना, हाम्रो समाजमा हिंसाबाट प्रभावित धेरै व्यक्तिका पीडा अझै पनि बन्द कोठाभित्र सीमित छन्। कतिपयले सामाजिक प्रतिष्ठा गुम्ने डरले बोल्न सक्दैनन्, कतिपयले परिवार टुट्ने चिन्ताले सहेर बस्छन् भने कतिपयले समाजको लाञ्छना र अपहेलनाका कारण न्याय खोज्ने आँटसमेत गर्न सक्दैनन्।
यही मौन पीडाभित्र लुकेको आवाजलाई सुन्ने, विश्वास दिलाउने र जीवनप्रति नयाँ आशा जगाउने एउटा महत्वपूर्ण माध्यम हो– मनोपरामर्श।
लैङ्गिक हिंसा: शरीरमा लागेको चोटभन्दा गहिरो मनको घाउ
लैङ्गिक हिंसा (Gender-Based Violence – GBV) को समाजको गम्भीर सामाजिक, मनोवैज्ञानिक तथा मानवअधिकारसम्बन्धी समस्या हो। महिला, बालबालिका तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू विभिन्न प्रकारका हिंसा, दुव्र्यवहार, शोषण र विभेदको सिकार भइरहेका छन्।
शारीरिक हिंसा, यौन हिंसा, मानसिक तथा भावनात्मक हिंसा, आर्थिक हिंसा, घरेलु हिंसा, बालविवाह, जबर्जस्ती विवाह, मानव बेचबिखन, कार्यस्थलमा हुने दुव्र्यवहार तथा अन्य प्रकारका लैङ्गिक विभेद यसका प्रमुख स्वरूप हुन्।
हिंसाले व्यक्तिको शरीरमा चोट पु¥याउन सक्छ, तर त्यसको असर मन र मस्तिष्कमा अझ गहिरो हुन सक्छ। हिंसाबाट प्रभावित व्यक्तिमा डर, चिन्ता, तनाव, निराशा, आत्मग्लानि, एक्लोपन, निद्रासम्बन्धी समस्या, आत्मविश्वासमा कमी, सामाजिक सम्बन्धबाट टाढिने प्रवृत्ति तथा आत्महत्यासम्बन्धी सोचसमेत देखिन सक्छ।
विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रको सामाजिक परिवेशमा सामाजिक प्रतिष्ठा, पारिवारिक दबाब, आर्थिक परनिर्भरता, अशिक्षा र परम्परागत सोचका कारण हिंसाका घटना बाहिर आउन कठिन हुन्छन्। कतिपय अवस्थामा हिंसालाई पारिवारिक विषय भन्दै लुकाउने, मिलापत्र गराउने वा प्रभावित व्यक्तिलाई नै दोष दिने प्रवृत्ति देखिन्छ। यसले हिंसा गर्ने व्यक्तिलाई थप प्रोत्साहन दिन सक्छ भने प्रभावित व्यक्तिको पीडा झन् गहिरो बनाउँछ।
मनोपरामर्श: पीडा सुनिदिने मात्र होइन, जीवनमा आशा जगाउने प्रक्रिया
मनोपरामर्श (Psychological Counseling)व्यक्तिको मानसिक, भावनात्मक, सामाजिक तथा व्यवहारसम्बन्धी समस्यालाई बुझेर त्यसको सामना गर्न सहयोग गर्ने व्यावसायिक प्रक्रिया हो।
लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिका लागि मनोपरामर्श भनेको केवल प्रश्न सोध्ने र उत्तर सुन्ने प्रक्रिया होइन। यो विश्वास निर्माण गर्ने, भावनालाई स्वीकार गर्ने, आत्मसम्मान पुनःस्थापित गर्ने र व्यक्तिलाई आफ्नो जीवनका निर्णय आफैँ लिन सक्षम बनाउने सहयोगात्मक यात्रा हो।
कहिलेकाहीँ प्रभावित व्यक्तिलाई लामो व्याख्या वा सुझावभन्दा पनि कसैले ध्यानपूर्वक उनको कुरा सुनिदिनु महत्वपूर्ण हुन्छ। कसैले बिना पूर्वाग्रह उनको पीडा बुझिदिनु, उनीमाथि दोषारोपण नगर्नु र उनी सुरक्षित छन् भन्ने अनुभूति गराउनु नै पुनःस्थापनाको पहिलो खुड्किलो बन्न सक्छ।
मनोपरामर्शदाताले प्रभावित व्यक्तिलाई यो बुझाउन आवश्यक हुन्छ कि हिंसाको जिम्मेवारी हिंसा गर्ने व्यक्तिको हो, प्रभावित व्यक्तिको होइन। उनीहरू सम्मान, सुरक्षा, न्याय र स्वतन्त्र जीवनका पूर्ण हकदार हुन्।
विश्वासको एउटा वाक्यले पनि बदलिन सक्छ जीवन प्रतिको दृष्टिकोण
हिंसाबाट प्रभावित व्यक्तिलाई मनोपरामर्श प्रदान गर्दा सबैभन्दा पहिले सुरक्षित र विश्वासिलो वातावरण निर्माण गर्नुपर्छ। उनीहरूको कुरा धैर्यपूर्वक सुन्ने, भावना र अनुभवको सम्मान गर्ने तथा गोपनीयता कायम गर्ने अभ्यास आवश्यक हुन्छ। प्रभावित व्यक्तिले आफ्नो पीडा व्यक्त गर्दा उनलाई बीचमै रोक्ने, घटनाको अनावश्यक विवरण सोध्ने वा किन त्यस्तो भयो भनेर दोषारोपण गर्ने व्यवहार गर्नु हुँदैन।
बरु उनीहरूलाई यस्ता सन्देश दिन सकिन्छ
तपाईंले भोग्नुभएको हिंसाका लागि तपाईं दोषी हुनुहुन्न। तपाईंको भावना र अनुभव महत्वपूर्ण छन्।तपाईं सम्मान र सुरक्षाका हकदार हुनुहुन्छ।तपाईंले आफ्नो जीवन सम्बन्धी निर्णय आफैँ लिन पाउनुहुन्छ। आवश्यक पर्दा सहयोग माग्नु कमजोरी होइन, साहस हो। यस्ता सम्मान जनक र सहयोगी व्यवहारले प्रभावित व्यक्तिमा विश्वास र आत्मविश्वास विकास गर्न मद्दत गर्न सक्छ।
मनोपरामर्शले कसरी बदल्न सक्छ प्रभावित व्यक्तिको जीवन?
डर र त्रासबाट आत्मविश्वास तर्फ: हिंसाका कारण व्यक्तिमा उत्पन्न डर, चिन्ता र असुरक्षालाई व्यवस्थापन गर्न मनोपरामर्शले सहयोग गर्छ। गहिरो श्वासप्रश्वास, विश्राम अभ्यास, भावनात्मक व्यवस्थापन र सकारात्मक सामना गर्ने सीप सिकाएर उनीहरूलाई मानसिक रूपमा सबल बनाउन सकिन्छ।
आत्मग्लानि बाट आत्मसम्मान तर्फ : कतिपय प्रभावित व्यक्तिले आफूलाई नै घटनाको दोषी ठान्न सक्छन्। मनोपरामर्शले उनीहरूलाई हिंसाको जिम्मेवारी हिंसा गर्ने व्यक्तिको भएको बुझ्न र आफ्नो आत्मसम्मान पुनःनिर्माण गर्न सहयोग गर्छ।
मौनताबाट आफ्ना कुरा व्यक्त गर्न सक्ने अवस्थातर्फः सामाजिक डर, लाज र असुरक्षाका कारण आफ्नो समस्या व्यक्त गर्न नसकेका व्यक्तिलाई सुरक्षित वातावरणमा आफ्ना आवश्यकता, भावना र अनुभव व्यक्त गर्न प्रोत्साहित गर्न सकिन्छ। तर उनीहरूलाई घटना सुनाउन वा बोल्न बाध्य पार्नु हुँदैन।
निराशाबाट नयाँ आशातर्फ :हिंसाबाट प्रभावित व्यक्तिले आफ्नो भविष्यप्रति आशा गुमाउन सक्छन्। मनोपरामर्शले उनीहरूका क्षमता, सम्भावना र उपलब्ध अवसर पहिचान गर्न सहयोग गर्छ।
परनिर्भरताबाट आत्मनिर्भरतातर्फः शिक्षा, सीप विकास, रोजगारी, आयआर्जन र आर्थिक सशक्तीकरणका अवसरसँग जोड्दा प्रभावित व्यक्तिले आत्मनिर्भर जीवनयापनको आधार तयार गर्न सक्छन्।
मनोवैज्ञानिक आघात :समय बित्दैमा सबै घाउ निको हुँदैनन् हिंसाका सबै असर बाहिर देखिँदैनन्। कतिपय घाउ शरीरमा देखिन्छन् भने कतिपय मनभित्र लुकेर बस्छन्। यौन हिंसा, बलात्कार, गम्भीर घरेलु हिंसा तथा अन्य पीडादायी घटनाले व्यक्तिमा मनोवैज्ञानिक आघात (Psychological Trauma) सिर्जना गर्न सक्छ। कसैलाई विगतको घटना बारम्बार सम्झना आउन सक्छ, कसैलाई भीडभाडमा डर लाग्न सक्छ, कसैलाई राति निद्रा नलाग्न सक्छ भने कसैलाई अरूमाथि विश्वास गर्न कठिन हुन सक्छ।
कतिपयमा आघातपछिको तनावसम्बन्धी समस्या( Post–Traumatic Stress Disorder–PTSD)समेत देखिन सक्छ। यस्तो अवस्थामा प्रभावित व्यक्तिको अवस्थाअनुसार आघातप्रति संवेदनशील मनोपरामर्श तथा आवश्यकताअनुसार प्रमाणमा आधारित मनोवैज्ञानिक उपचार उपलब्ध गराउनुपर्छ। उनीहरूलाई जबर्जस्ती विगतको घटना सम्झाउनुभन्दा वर्तमानमा सुरक्षित महसुस गराउने र आफ्नो गतिमा अगाडि बढ्न सहयोग गर्नु बढी महत्वपूर्ण हुन्छ। लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिको पुनःस्थापना मनोपरामर्शमा मात्र सीमित हुनु हुँदैन। कतिपय अवस्थामा उनीहरूलाई स्वास्थ्य उपचार, कानुनी सहायता, सुरक्षित आवास, आर्थिक सहयोग, प्रहरी सेवा, संरक्षण गृह तथा अन्य सामाजिक सेवाको आवश्यकता पर्न सक्छ। त्यसैले मनोपरामर्शदाताले प्रभावित व्यक्तिको आवश्यकताअनुसार र उनीहरूको सहमतिमा सम्बन्धित निकायसँग समन्वय गर्नुपर्छ।
विशेषगरी नेपालमा उपलब्ध एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (One Stop Crisis Management Centre–OCMC)स्वास्थ्य संस्था, स्थानीय तह, प्रहरी, कानुनी सहायता प्रदान गर्ने निकाय तथा महिला तथा बालबालिकासम्बन्धी सेवा केन्द्रसँग प्रभावकारी समन्वय गर्न आवश्यक छ। आत्महत्याको जोखिम देखिएको अवस्थामा तत्काल सुरक्षा मूल्याङ्कन, सुरक्षा योजना र आवश्यक मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्छ। बालबालिका प्रभावित भएको अवस्थामा बाल संरक्षण र उनीहरूको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्छ।
परिवार र समाज : उपचारको वातावरण कि थप पीडाको कारण?
हिंसाबाट प्रभावित व्यक्तिको पुनःस्थापनामा परिवार र समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। तर कतिपय अवस्थामा परिवार तथा समाजबाटै प्रभावित व्यक्तिले अपहेलना, दोषारोपण, विभेद र मानसिक दबाब सहनुपर्ने अवस्था आउँछ। ’समाजले के भन्ला?’, ’परिवारको इज्जत जान्छ’, ’यस्ता कुरा बाहिर ल्याउनु हुँदैन’ जस्ता सोचले प्रभावित व्यक्तिलाई न्याय र सहयोगबाट टाढा राख्न सक्छ। हामीले बुझ्नुपर्छ, परिवारको प्रतिष्ठाभन्दा व्यक्तिको जीवन, सुरक्षा र आत्मसम्मान महत्वपूर्ण हुन्छ। परिवारले प्रभावित व्यक्तिलाई विश्वास गर्नुपर्छ, उनीहरूको कुरा सुन्नुपर्छ र सुरक्षित वातावरण उपलब्ध गराउनुपर्छ। समुदायले सामाजिक लाञ्छना र विभेद अन्त्य गर्नुपर्छ। विद्यालयले बालबालिका तथा किशोरकिशोरीलाई सुरक्षित वातावरण प्रदान गर्नुपर्छ। स्थानीय सरकारले मनोसामाजिक परामर्श, स्वास्थ्य उपचार, कानुनी सहायता र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ। त्यसैगरी स्वास्थ्य संस्था, प्रहरी, न्यायिक निकाय, सामाजिक सङ्घसंस्था तथा मनोसामाजिक परामर्शदाताबीच प्रभावकारी समन्वय आवश्यक छ।
मनोपरामर्शदाताको जिम्मेवारी :संवेदनशीलता, व्यावसायिकता र जवाफदेहिता मनोपरामर्शदाताले प्रभावित व्यक्तिलाई सहयोग गर्दा सुरक्षा, गोपनीयता, सम्मान, सूचित सहमति, भेदभावरहित व्यवहार र आत्मनिर्णयको अधिकारलाई प्राथमिकता दिनुपर्छ। उनीहरूको इच्छाविपरीत कुनै निर्णय लाद्नु हुँदैन। हिंसा गर्ने व्यक्तिसँग जबर्जस्ती मेलमिलाप गराउने प्रयास गर्नु हुँदैन। प्रभावित व्यक्तिको व्यक्तिगत विवरण सार्वजनिक गर्नु हुँदैन। आफ्नो दक्षताको सीमाभन्दा बाहिरका समस्यामा आवश्यक विशेषज्ञ सेवा रिफर गर्नुपर्छ। मनोपरामर्शदाताको काम प्रभावित व्यक्तिका लागि निर्णय गरिदिनु होइन, बरु उनीहरूलाई सुरक्षित रूपमा आफ्नो निर्णय लिन सक्षम बनाउनु हो।
एउटा प्रश्न, जसले हामी सबैलाई सोच्न बाध्य बनाउँछ ।हामी कस्तो समाज निर्माण गर्दै छौँ? जहाँ हिंसाबाट प्रभावित व्यक्ति न्याय खोज्दा प्रश्नको घेरामा पर्छन् कि जहाँ उनीहरूको आवाज सम्मानपूर्वक सुनिन्छ? जहाँ पीडितलाई नै दोष दिइन्छ कि जहाँ हिंसा गर्ने व्यक्तिलाई जवाफदेही बनाइन्छ? जहाँ सामाजिक प्रतिष्ठाका नाममा पीडा लुकाइन्छ कि जहाँ मानवअधिकार र व्यक्तिको आत्मसम्मानलाई प्राथमिकता दिइन्छ? लैङ्गिक हिंसा कुनै व्यक्तिको व्यक्तिगत कमजोरी होइन।
यो समाजको संरचना, सोच, शक्ति असन्तुलन र विभेदसँग जोडिएको गम्भीर समस्या हो। यसको अन्त्यका लागि कानुनी व्यवस्था र सचेतना मात्र पर्याप्त हुँदैन; प्रभावित व्यक्तिको मनोवैज्ञानिक, सामाजिक तथा आर्थिक पुनःस्थापनालाई पनि उत्तिकै महत्व दिनुपर्छ।मनोपरामर्शले टुटेको आत्मविश्वासलाई पुनःजोड्न, हराएको आशा जगाउन, आत्मसम्मान फर्काउन र जीवनलाई नयाँ दृष्टिकोणबाट अघि बढाउन सहयोग गर्न सक्छ।
हामीले हिंसाबाट प्रभावित व्यक्तिलाई दयाको पात्र होइन, अधिकार र सम्मानका हकदारका रूपमा हेर्नुपर्छ। उनीहरूलाई बोल्नका लागि सुरक्षित वातावरण, बाँच्नका लागि सुरक्षा, अघि बढ्नका लागि अवसर र आत्मनिर्भर हुनका लागि सहयोग उपलब्ध गराउनुपर्छ। किनकि एउटा व्यक्तिको पीडा सुन्नु केवल उसको आवाज सुन्नु होइन, उसको अस्तित्व, अधिकार र मानवताको सम्मान गर्नु पनि हो।
आउनुहोस्, हिंसामुक्त समाज निर्माणका लागि हातेमालो गरौँ। हिंसाबाट प्रभावितलाई दोष होइन, साथ दिऔँ। अपहेलना होइन, सम्मान गरौँ। मौनता होइन, आवाज बनौँ। निराशा होइन, आशा जगाऔँ। किनकि प्रत्येक व्यक्तिलाई हिंसामुक्त, सुरक्षित र सम्मानजनक जीवन बाँच्ने अधिकार छ।
लेखक: नन्दराज आचार्य मनोसामाजिक परामर्शदाता, कार्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला








