एमाले राष्ट्रिय भेला आजदेखि, स्थानीय तहको निर्वाचन मुख्य प्राथमिकतामा

काठमाडौं : नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ।  आसन्न स्थानीय तहको निर्वाचन तयारीमा केन्द्रित गरी आयोजना गरिएको भेला विहान ११ बजे बबरमहलस्थित कार्की बैक्वेटमा सुरु हुने एमालेले जनाएको छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता विद्यादेवि भण्डारीले विशेष सम्बोधन गर्ने छन्।

हिजो बसेको पार्टीको स्थायी कमिटी बैठकले मंसीर २ र ३ गते हुने राष्ट्रिय भेलामा प्रस्तुत गरिने एजेण्डा र कार्यप्रसमेत पारित गरेको छ। भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टी संगठन परिचालनमा केन्द्रित गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

एमालेका अनुसार राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र विभिन्न तहका जनप्रतिनिधिसहित ३ हजार ४१४ जना सहभागी हुनेछन्। भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्।

भेलाको मुख्य उद्देश्य स्थानीय निर्वाचनको पूर्वतयारी, पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढीकरण र पार्टीका निर्णय कार्यान्वयनमा नेता-कार्यकर्ताबीच साझा धारणा निर्माण गर्नु रहेको एमालेका जनाएको छ।

त्यस्तै, भेलामा संघीय संसद तथा राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ।

जनसंगठनका प्रतिनिधि तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरू पनि भेलामा सहभागी हुनेछन्। एमालेको पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका कमिटी र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एउटै मञ्चमा सहभागी गराउन लागेको यो पहिलोपटक भएको एमाले नेता माधव ढुंगेलले बताए।

भेलामा अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रिय राजनीति, पार्टीको भावी कार्यदिशा र आगामी कार्यभारबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा धारणा राख्नेछिन्।

त्यस्तै, उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्ष र अर्को उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका विकास निर्माणका कामको विवरण प्रस्तुत गर्नेछन्।

एमाले केन्द्रीय कमिटी बैठक मंसिर ४ गते बस्ने भएको छ। राष्ट्रिय भेला सम्पन्न गरेरको भोलिपल्टै केन्द्रीय बैठक बस्न लागेको हो। यसअघि मंसीर ५ गतेका लागि तय केन्द्रीय कमिटी बैठक एक दिन अगाडि सारिएको छ। उपमहासचिव लेखराज भट्टले बैठकको मिति सारिएको बताए।

गत फागुनको प्रतिनिभिसभा निर्वाचनमा नराम्रो पराजय बेहोरेको एमाले राष्ट्रिय राजनीतिमा अहिले रक्षात्मक बनिरहेका बेला हुन लागेको राष्ट्रिय भेलालाई चासोका साथ हेरिएको छ। स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा जनमत फर्काउने तयारीका साथ पार्टी भेलामा जुट्ने नेता महेश बस्नेतले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्ने दाबी गरेका छन्। उनले एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा अघि बढ्ने बताए। अखिल नेपाल किसान महासंघको  बैठकलाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै ओलीले एमाले सम्बन्धमा मजुफूद, देशभक्त, लोकतान्त्रिक र स्पष्ट दृष्टिकोण भएको पार्टी रहेको जिकिर गरे।

सम्बन्धित समाचार