मुगुबाटै अन्तरजिल्ला नागरिकताको प्रतिलिपि वितरण सुरु, जुम्लाका नागरिक लाभान्वित

मुगु: मुगुबाट पहिलो पटक अन्य जिल्लाका नागरिकलाई नागरिकताको प्रतिलिपि वितरण गर्न सुरु गरिएको छ। नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ को नियम १६ (घ) मा भएको व्यवस्थाबमोजिम छिमेकी जिल्ला जुम्लाका एक नागरिकलाई मुगुबाटै नागरिकताको प्रतिलिपि प्रदान गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मुगुका निमित्त प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ निवासी प्रकाश बुढालाई पहिलो पटक अन्तरजिल्ला प्रक्रियामार्फत नागरिकताको प्रतिलिपि जारी गरिएको हो।

हाल मुगुको छायाँनाथ रारा नगरपालिका–२ मा बसोबास गर्दै आउनुभएका बुढाले जिल्ला प्रशासन कार्यालय मुगुबाटै नागरिकताको प्रतिलिपि प्राप्त गर्नुभएको छ। यसअघि नागरिकताको प्रतिलिपि लिन सम्बन्धित जिल्लाकै प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता थियो। नयाँ व्यवस्थाले अस्थायी रूपमा अन्य जिल्लामा बसोबास गर्दै आएका नागरिकलाई सहजता प्रदान गरेको छ।

नागरिकताको प्रतिलिपि प्राप्त गरेपछि बुढाले नयाँ व्यवस्थाले आफूजस्ता अन्य जिल्लामा बसोबास गर्ने नागरिकलाई ठूलो राहत पुगेको बताउनुभयो। उहाँका अनुसार यसबाट समय, यातायात खर्च र आर्थिक बचत हुनुका साथै सम्बन्धित जिल्ला धाउनुपर्ने झन्झटसमेत हटेको छ।

उहाँले भन्नुभयो, “अन्तरजिल्लाबाटै नागरिकताको प्रतिलिपि लिन पाउने व्यवस्थाले निकै सहज भएको छ। यसले सिंहदरबारको अधिकार गाउँगाउँ र जिल्लाजिल्लासम्म पुगेको अनुभूति गराएको छ।

नागरिकता पाँचौँ संशोधन नियमावली, २०८३ ले गरेको व्यवस्थाअनुसार अब आवश्यक प्रक्रिया पूरा गरी नागरिकले आफू अस्थायी रूपमा बसोबास गरिरहेको अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।

यस व्यवस्थाले नागरिकलाई आफ्नै बसोबास भएको जिल्लाबाट सेवा लिन सहज बनाउनुका साथै समय र खर्चको बचत गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार