जुम्लामा नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु, निर्वाचनमा जित्ने उम्मेदवार छनोटमा जोड
जुम्ला । नेपाली कम्युनिष्ट पार्टीले जुम्लामा राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। पार्टीको केन्द्रीय कार्यक्रमअनुसार शनिबार जुम्ला सदरमुकाम खलंगामा प्रदेश निर्वाचन क्षेत्र (क) र आइतबार सिंजा गाउँपालिकाको नराकोटमा प्रदेश निर्वाचन क्षेत्र (ख) स्तरीय जागरण अभियानको उद्घाटन तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो।
पार्टी जिल्ला अध्यक्ष राजबहादुर खत्रीका अनुसार विगतका राजनीतिक तथा सांगठनिक गतिविधिको समीक्षा गर्दै कमजोरी पहिचान र सुधार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनतासँग नजिक बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको उहाँले बताउनुभयो।
अभियानको अभिमुखीकरण कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य, कर्णाली प्रदेश सहइन्चार्ज तथा पूर्वमन्त्री नरेश भण्डारीले उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज तथा पूर्वराज्यमन्त्री गोमा गौतम कुँवर, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदमबहादुर रोकाया, जिल्ला अध्यक्ष राजबहादुर खत्री, केन्द्रीय सदस्यहरू वीरबहादुर कुँवर, नवराज न्यौपाने, चन्द्रवीर तिरुवा, लक्ष्मी कन्यबुढा, नरेन्द्रनाथ योगी, हिमालय खत्री, शान्ति मल्ल भण्डारी, अम्मरजंग शाहीलगायत केन्द्रीय तथा प्रदेशस्तरका नेता र सयौँ अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो।
जिल्ला इन्चार्ज गोमा गौतम कुँवरका अनुसार गाउँपालिका तहमा देखि वडा तहमा जागरण अभियान सञ्चालन गरिनेछ। उहाँले अभियान प्रदेश निर्वाचन क्षेत्र (ख) हुँदै (क) बाट अघि बढाइएको जानकारी दिनुभयो।
उहाँले पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो भूमिकाको समीक्षा गर्नुका साथै समर्थक र आम नागरिकको भावना, सुझाव तथा अपेक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। नेता मात्रै होइन, पार्टीप्रति आस्था राख्ने समर्थक र सर्वसाधारणले के सोचिरहेका छन् भन्ने विषयलाई अभियानले विशेष महत्त्व दिनुपर्ने उहाँको भनाइ थियो।
अभियान उद्घाटन गर्दै केन्द्रीय सदस्य नरेश भण्डारीले राष्ट्रिय जागरण अभियान आगामी स्थानीय तहको निर्वाचनलाई समेत लक्षित गरेर सञ्चालन गरिएको बताउनुभयो। उहाँले अभियानले स्थानीय तहमा पार्टीको वास्तविक जनाधार, नेतृत्व क्षमता र निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिको पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँका अनुसार आगामी निर्वाचनमा पार्टीप्रति सक्रियता, लगनशीलता, इमानदारिता र जनतामाझ जित्न सक्ने क्षमता भएका व्यक्तिलाई उम्मेदवार छनोटमा प्राथमिकता दिइनेछ। पर्याप्त तयारी नगरी उम्मेदवारीको दाबी गर्दा व्यक्ति र पार्टी दुवैलाई क्षति पुग्न सक्ने भएकाले आकाङ्क्षीहरूले जनतामाझ आफ्नो आधार र विश्वास स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो।
भण्डारीले पार्टीले गरेका राम्रा काम जनतामाझ पुर्याउने, विगतमा भएका कमजोरीप्रति आत्मसमीक्षा गर्ने र आवश्यक परे जनतासँग क्षमायाचना गर्दै सुधार गरेर अघि बढ्ने अभियानको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको समीक्षा गर्दै कम्युनिष्ट आन्दोलनलाई थप सशक्त बनाउन अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो। उहाँले पार्टीको नाममा संगठनमा सक्रिय देखिने तर निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई सहयोग नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो।
त्यस्तै, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री पदमबहादुर रोकायाले जनमतलाई बलियो आधार बनाएर आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने बताउनुभयो। पार्टीभित्र रहेर निर्वाचनका बेला आफ्नै उम्मेदवारविरुद्ध षड्यन्त्र गर्ने प्रवृत्तिको समीक्षा र मूल्याङ्कन हुनुपर्ने उहाँको भनाइ थियो।
जुम्लाको लामो राजनीतिक अनुभव र विगतका निर्वाचन परिणामलाई मध्यनजर गर्दै पार्टीका नेता तथा कार्यकर्ताले आफ्ना कमजोरी सुधार गर्नुपर्ने सुझाव दिँदै रोकायाले अभियानमा दृढतापूर्वक लाग्न र जनताका सुझाव तथा गुनासालाई गम्भीरतापूर्वक ग्रहण गर्न आग्रह गर्नुभयो।
नेपाली कम्युनिष्ट पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानले संगठनात्मक सुदृढीकरण, नेतृत्वको मूल्याङ्कन, जनतासँगको सम्बन्ध विस्तार र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेको देखिन्छ। अभियानमार्फत पार्टीका नीति, कार्यक्रम र विगतका उपलब्धि जनतामाझ पुर्याउँदै कमजोरी सुधार गरेर अघि बढ्ने पार्टीको लक्ष्य रहेको छ।








