मुगुम कार्मारोङमा १० शय्याको प्राथमिक अस्पताल भवन निर्माण सम्पन्न,गुणस्तरीय स्वास्थ्य सेवाको पर्खाइमा स्थानीय

मुगु — सामान्य बिरामी पर्दा वा चोटपटक लाग्दासमेत घण्टौँ पैदल हिँडेर जिल्ला अस्पताल गमगढी पुग्नुपर्ने बाध्यता झेल्दै आएका मुगुको दुर्गम मुगुम कार्मारोङ गाउँपालिकाका नागरिकले अब गाउँमै स्वास्थ्य सेवा पाउने आशा गरेका छन्। गाउँपालिका–६ स्थित रिउस बगरमा १० शय्याको सुविधासम्पन्न प्राथमिक अस्पताल भवन निर्माण सम्पन्न भई उद्घाटन भएपछि स्थानीयवासीमा खुसी छाएको छ।

संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत नेपाल पब्लिक कन्स्ट्रक्सन कम्पनी प्रालि, काठमाडौँले उक्त भवन निर्माण गरेको हो। कुल १० करोड २४ लाख ९३ हजार १६० रुपैयाँ लागतमा निर्माण भएको अस्पताल भवनमा तीनवटा ब्लक, ४० वटा कोठा र १९ वटा शौचालय रहेका छन्।

निर्माण कम्पनीसँग २०७८ वैशाख १७ गते सम्झौता भई २०८० असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार पार्न भएको ढिलाइ, सडक सञ्जालको अभाव तथा निर्माण सामग्री ढुवानीका लागि खच्चड र भरियामा निर्भर हुनुपर्दा निर्माण कार्य प्रभावित भएको गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र रावलले जानकारी दिनुभयो।

भौगोलिक विकटता र विभिन्न प्राविधिक समस्याका कारण पाँच पटक म्याद थप गर्नुपरेपछि निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी अस्पताल भवन निर्माण सम्पन्न भएको हो।

गाउँमै सहरका निजी अस्पतालको झल्को दिने सुविधासम्पन्न भवन निर्माण भएपछि स्थानीयवासी उत्साहित भएका छन्। यसअघि आर्थिक अवस्था कमजोर भएका नागरिक सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जान नसक्दा जडीबुटी र परम्परागत उपचार पद्धतिमा निर्भर हुनुपर्ने अवस्था थियो।

स्थानीय गुरुछेटोल लामाले गाउँमै ठूलो अस्पताल भवन निर्माण हुनु खुसीको विषय भएको बताउँदै अब स्थानीय सरकारले आवश्यक चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो। उहाँले अस्पतालमा पर्याप्त औषधि, स्वास्थ्य उपकरण र नियमित स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

नवनिर्मित अस्पताल भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दुर्गम हिमाली बस्तीमा करोडौँ रुपैयाँको लागतमा स्वास्थ्य पूर्वाधार निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो। संघीयताका कारण विकट गाउँबस्तीमा समेत स्वास्थ्य र शिक्षाका ठूला पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गर्दै उहाँले अस्पतालको सेवा विस्तार र स्तरोन्नतिका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य खड्गबहादुर शाहीले दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन अस्पतालले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। भवन निर्माणसँगै अब आवश्यक जनशक्ति, औषधि, उपकरण र नियमित सेवा सञ्चालनमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

त्यसैगरी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले अस्पताललाई १० शय्याको क्षमताअनुसार सञ्चालन गर्न दक्ष जनशक्ति, औषधि तथा आवश्यक उपकरण उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। अस्पताल व्यवस्थापन समिति र गाउँपालिकाले आवश्यक मागसहित प्रस्ताव पेस गरेमा प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उहाँले प्रभावकारी स्वास्थ्य सेवा सञ्चालनका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

रिउसमा अस्पताल सञ्चालनको इतिहास भने नयाँ होइन। २०७५ सालमा छाया नेपाल, काठमाडौँ र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र, मुगु तथा मुगुम कार्मारोङ गाउँपालिकाको लागत साझेदारीमा सोही स्थानमा रिउस सामुदायिक अस्पताल स्थापना गरिएको थियो। ती संस्थाले आफ्नै जनशक्ति परिचालन गरी स्वास्थ्य तथा प्रसूति सेवा, एक्सरे र प्रयोगशाला सेवा सञ्चालन गरेका थिए। त्यसबेला स्थानीयवासीले गाउँमै विभिन्न स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाएका थिए।

सामुदायिक अस्पताल निर्माणका लागि २८ जना जग्गाधनीले जग्गादान गरेका थिए। स्थानीयको सहयोग र पहलबाट स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको सोही स्थानमा अहिले संघीय सरकारको लगानीमा रिउस प्राथमिक अस्पतालको नयाँ भवन निर्माण भएको हो।

संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका स्थानीय तहमा अस्पताल भवनको एकैसाथ भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो। सोही कार्यक्रमअन्तर्गत मुगुका खत्याड, सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा पनि अस्पताल निर्माण प्रक्रिया अघि बढाइएको थियो।

तीनवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ गाउँपालिकाको अस्पताल भवन निर्माण सम्पन्न भई उद्घाटन भइसकेको छ भने खत्याड र सोरु गाउँपालिकाका अस्पताल भवन निर्माण प्रक्रिया अझै जारी रहेका छन्।

अस्पतालको भौतिक संरचना निर्माण सम्पन्न हुनु मुगुम कार्मारोङका नागरिकका लागि महत्त्वपूर्ण उपलब्धि भए पनि स्थानीयको वास्तविक अपेक्षा भने गाउँमै गुणस्तरीय र नियमित स्वास्थ्य सेवा प्राप्त गर्नु हो। त्यसका लागि अस्पतालमा आवश्यक दक्ष जनशक्ति, औषधि, उपकरण तथा सेवा सञ्चालनको भरपर्दो व्यवस्था गर्नु अब सम्बन्धित तीनै तहका सरकारको प्रमुख जिम्मेवारी बनेको छ।

सम्बन्धित समाचार