कति सहने श्रीमानको ज्यादती र अत्याचार? श्रीमान्को कुटपिटबाट २० वर्षीया कर्मकन्या गम्भीर घाइते
जुम्ला । घरबार जोगाउने आशा, समाजको डर र माइतीको इज्जत जोगाउने बाध्यताले आखिर महिलाले कति दिनसम्म श्रीमानको हिंसा सहने? जीवनभर साथ दिने वाचा गरेर विवाह गरेका श्रीमान्बाटै पटक–पटक कुटपिट र यातना सहनुपर्ने अवस्था कहिलेसम्म ? जुम्लाकी २० वर्षीया कर्मकन्या वडको घटनाले घरेलु हिंसाको यही दर्दनाक यथार्थ उजागर गरेको छ।
हिमा गाउँपालिका ७, मच्चीगाउँकी कर्मकन्या अहिले श्रीमान्को कुटपिटबाट गम्भीर घाइते भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचाररत छिन्। गत ३ गतेदेखि अस्पतालमा उपचार गराइरहेकी उनको शरीरमा लागेको चोटले घरभित्रै महिलामाथि हुने हिंसाको भयावह अवस्था देखाएको छ।
पीडितका अनुसार उनका २२ वर्षीय श्रीमान् उमेश त्रिरुवाले नशा सेवन गरी पटक–पटक कुटपिट गर्दै आएका थिए। यसपटकको कुटपिट बाट उनको मुखमा गम्भीर चोट लागेको छ। माथिल्लो ओठ काटिएर दुई फ्याक भएको र कानबाट समेत रगत बगेको पीडितले बताएकी छन्। भने उनका शरिरिभरी यस अघि कुटपिट गरेका पुराना घाउहरु छन ।
कर्मकन्याको माइतीघर सिंजा गाउँपालिका–२, चुलेल गाउँ हो। उनका दाइ सुनजित वडका अनुसार बहिनीले यसअघि पनि श्रीमानको हिंसा पटक–पटक सहँदै आएकी थिइन्। घरपरिवार बिग्रेला, समाजले के भन्ला र बहिनीको घरबार राम्रो होला भन्ने आशामा परिवारले धेरैपटक मिलापत्र गराएर उनलाई श्रीमानको घर पठाएको थियो।तर, मिलापत्रले हिंसा रोकिएन। बरु अवस्था झन् गम्भीर बन्दै गएको पीडित परिवारको भनाइ छ।
“पहिले पनि नशा सेवन गरेर पटक–पटक मार्ने प्रयास गरेका थिए। हामीले बहिनीको घरबार राम्रो बनोस् भनेर मिलापत्र गराउँदै पठायौँ। तर यस पटक त मुखमा गम्भीर चोट पु¥याएका छन्। कानबाट रगत निस्किएको छ। बहिनीलाई मृत्युको मुखबाट बचाएर अस्पताल ल्याएका छौँ,” पडितका दाइ सुनजित वडले भावुक हुँदै भने।
पीडित परिवारले यस घटनामा श्रीमान् उमेश त्रिरुवा र सासू धौली त्रिरुवाको समेत संलग्नता रहेको आरोप लगाएको छ। घटनालाई ज्यान मार्ने उद्योगसँग सम्बन्धित भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आरोपित उमेश त्रिरुवालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।
घरबार जोगाउने नाममा कहिलेसम्म सहने हिंसा?
कर्मकन्याको घटना एउटा परिवारभित्रको सामान्य विवाद मात्र होइन। यो समाजमा अझै जरा गाडेर बसेको घरेलु हिंसा, महिला सहनशीलताको गलत व्याख्या र पीडितलाई नै सम्झौता गर्न बाध्य बनाउने सामाजिक सोचमाथिको गम्भीर प्रश्न हो।
श्रीमानले कुटपिट गर्दा पनि घरबार नबिग्रियोस् भनेर चुप लाग्नुपर्ने, हिंसा सहेर माइती फर्किन नहुने र समाजले कुरा काट्ला भनेर पीडा लुकाउनुपर्ने बाध्यता महिला माथि कहिले सम्म थोपरिरहने?
घर भनेको महिलाका लागि सबैभन्दा सुरक्षित स्थान हुनुपर्ने हो। तर त्यही घरमा आफ्नै जीवन साथीबाट ज्यानै जोखिममा पर्ने गरी कुटपिट सहनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण छ।
विवाहको अर्थ हिंसा सहनु होइन। घरबार जोगाउने जिम्मेवारी महिलाको मात्र होइन। श्रीमतीमाथि हात उठाउनु कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैन। नशा सेवन, पारिवारिक विवाद वा अन्य कुनै कारणले पनि घरेलु हिंसालाई जायज ठह¥याउन मिल्दैन।
कर्मकन्याको घटनाले अब पीडितलाई मिलापत्रका नाममा फेरि हिंसात्मक वातावरणमा फर्काउने होइन, उनको सुरक्षा, उपचार र न्यायलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।
कति सहने महिलाले श्रीमान्को ज्यादती र अत्याचार?
घरबार जोगाउने नाममा महिलाले आफ्नो ज्यान नै जोखिममा राख्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिने व्यक्तिमाथि कानुनअनुसार कारबाही हुनुपर्छ।
कर्मकन्याको शीघ्र स्वास्थ्यलाभको कामना। उनीसहित घरेलु हिंसाबाट पीडित प्रत्येक महिलाले डर र त्रासमुक्त भएर सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो।









