रारा बहुमुखी क्याम्पसलाई तीनतले नयाँ भवन, मुगुमा उच्च शिक्षाको पूर्वाधार थपियो

मुगु:मुगुको छायाँनाथ रारा नगरपालिका–५ स्थित मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रारा बहुमुखी क्याम्पसमा १२ कोठे तीनतले नयाँ भवन निर्माण सम्पन्न भएको छ। छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको शनिबार औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

करिब एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको भवनले क्याम्पसको पठनपाठनलाई थप व्यवस्थित बनाउनुका साथै जिल्लामा उच्च शिक्षाको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भवनको पहिलो तलाको निर्माण कार्य सुरेन्द्र निर्माण सेवाले सम्पन्न गरेको हो भने दोस्रो र तेस्रो तलाको निर्माण पीबीआर कन्स्ट्रक्सनले गरेको हो।

नवनिर्मित भवनको उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरभित्र शिक्षा क्षेत्रको समग्र विकास र शैक्षिक संस्थाहरूको भौतिक पूर्वाधार सुधारलाई नगरपालिकाले निरन्तर प्राथमिकता दिँदै आएको बताउनुभयो।

स्थानीय स्तरमै विद्यार्थीहरूले सहज र गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यले शैक्षिक पूर्वाधार विकासमा जोड दिइएको उहाँको भनाइ थियो।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख ऐश्वर्य मल्लले भौतिक संरचनाको निर्माणसँगै शिक्षाको गुणस्तर सुधारमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनुभयो। नयाँ भवनले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई सहज र व्यवस्थित वातावरणमा अध्ययन गर्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

नयाँ भवन निर्माण सम्पन्न भएसँगै क्याम्पसको दैनिक शैक्षिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। भौतिक पूर्वाधारको विस्तारसँगै उपलब्ध संरचनाको प्रभावकारी उपयोग गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नु क्याम्पस प्रशासन तथा सम्बन्धित सरोकारवालाहरूको मुख्य जिम्मेवारी हुनेछ।

मुगुमा उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न नयाँ भवनले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार