मुगुको खत्याडमा आगलागी: किराना र टेलर पसल जलेर नष्ट

मुगु:मुगुको खत्याड गाउँपालिका–२ स्थित जाम बजारमा गएराति भएको आगलागीबाट दुईवटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट स्थानीय विष्णु सञ्ज्यालको किराना पसल र अन्नाम दमाईको कपडा सिलाइ गर्ने टेलर पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन्।

प्रहरी चौकी श्रीकोट, मुगुका अनुसार २०८३ साल कात्तिक १२ गते राति करिब १२:०५ बजे स्थानीय ४० वर्षीय विष्णु सञ्ज्यालको जस्ता र काठले बनेको किराना पसल तथा ३७ वर्षीय अन्नाम दमाईको टेलर पसलमा अचानक आगलागी भएको थियो।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक नन्दबहादुर रावतको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा राति १:१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट दुवै पसलमा रहेका किराना सामान, कपडा तथा अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण भने घटनास्थलको मुचुल्का तयार भएपछि मात्र खुल्ने उनले बताएका छन्। घटनास्थल प्रहरी चौकी श्रीकोटबाट पैदल करिब ४५ मिनेटको दूरीमा रहेको छ।

आगलागीबाट टेलर पसल गुमेपछि अन्नाम दमाई चिन्तित

आगलागीबाट आफ्नो जीविकोपार्जनको मुख्य आधार टेलर पसल नै जलेर नष्ट भएपछि अन्नाम दमाईले दुःख व्यक्त गरेका छन्। राति सुतिरहेको अवस्थामा अचानक आगो लागेको थाहा पाएको बताउँदै उनले आगलागी कसरी र कहाँबाट सुरु भयो भन्नेबारे आफूलाई जानकारी नभएको बताए।

उनका अनुसार पसलमा रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नलगायतका सबै सामान जलेर नष्ट भएका छन्। टेलर पसल नै आफ्नो कमाइ खाने मुख्य आधार रहेको बताउँदै उनले अब परिवारको गुजारा कसरी चलाउने भन्ने चिन्ता व्यक्त गरेका छन्।

“कमाइ खाने यही टेलर पसल थियो, आगलागीले सबै खरानी बनायो। हिउँदको चिसो समय आउँदै छ। अब घरपरिवारको जीवन कसरी चलाउने भन्ने चिन्ता लागेको छ,” दमाईले दुःख व्यक्त गर्दै भने।

आगलागीको यकिन कारण खुल्न नसकेको र क्षतिको विवरण संकलन हुन बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार