१६ वर्ष पुरानो हरिकृष्ण शाही हत्या प्रकरण : प्रहरीसहित ५ जना पुर्पक्षका लागि कारागार चलान
मुगु:मुगुमा १६ वर्षअघि भएको हरिकृष्ण शाही हत्या प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जनालाई मुगु जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने एक जनासँग धरौटी माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको अनुसन्धान, अभियुक्त पक्राउ र अदालतको आदेशबारे जानकारी दिएको हो।
प्रहरीका अनुसार वि.सं. २०६७ साल असार ४ गते भएको हरिकृष्ण शाही हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्दामा जाहेरवाली पुनी शाहीले २०८३ साल वैशाख ३१ गते ९ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेकी थिइन्। त्यसपछि मुगु जिल्ला अदालतबाट ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ पुर्जी जारी भएपछि प्रहरीले वैशाख ३१ गते सङ्गीता भनिने सरिता बुढा र कालीबहादुर खड्कालाई पक्राउ गरेको थियो। त्यसैगरी जेठ १ गते पारसमणि मल्ल, चन्द्रप्रकाश शाही, कानुनको विवादमा परेका दुई जना बालक (रारा–६० ‘अ’ र ‘आ’) तथा जेठ ७ गते जसु बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अदालतबाट पक्राउ पुर्जी जारी भएका ९ जनामध्ये ७ जना पक्राउ परिसकेका छन् भने २ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।
मुगु जिल्ला अदालतले जेठ २७ गते गरेको आदेशअनुसार सङ्गीता भनिने सरिता बुढासँग ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ भने अन्य ६ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार तत्कालीन नेपाल प्रहरीका जवान कालीबहादुर खड्का, पारसमणि मल्ल, जसु बोहोरा, चन्द्रप्रकाश शाही तथा कानुनको विवादमा रहेका दुई जना बालकलाई पुर्पक्षका लागि कारागार पठाइएको हो।
उनका अनुसार फरार रहेका दुई अभियुक्तको खोजी कार्य तीव्र बनाइएको छ। उनीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक समन्वय र निगरानी भइरहेको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा प्रहरीले पुराना तथा जटिल प्रकृतिका मुद्दामा समेत सत्यतथ्य अनुसन्धान गरी न्यायिक प्रक्रियामा सहयोग गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको जनाएको छ।
लामो समयदेखि अनुसन्धान र न्यायिक प्रक्रियामा रहेको हरिकृष्ण शाही हत्या प्रकरण अब न्यायको महत्वपूर्ण चरणमा पुगेको बताइएको छ। फरार अभियुक्तको पक्राउ र अदालतको आदेश कार्यान्वयनका लागि प्रहरी सक्रिय रहेको जनाएको छ।








