जुम्लामा सुरक्षा चुनौती न्यूनीकरण गर्न प्रहरी सक्रिय,लागू औषध नियन्त्रणदेखि साइबर अपराधसम्म प्राथमिकतामा


जुम्ला :  जिल्ला प्रहरी कार्यालय जुम्लाका नयाँ प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउन अपराध नियन्त्रण, लागू औषध न्यूनीकरण, साइबर अपराध नियन्त्रण तथा नागरिक–प्रहरी सम्बन्ध सुदृढ गर्ने कार्यलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

डिएसपी दाहालले जिल्ला प्रहरी कार्यालय जुम्लामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले हरेक महिनाको दुई गते अघिल्लो महिनाको कार्यप्रगति सार्वजनिक गर्ने व्यवस्था अनुसार गतिविधि सार्वजनिक गर्ने बताए ।उनले जिल्लाको सुरक्षा चुनौती समाधानका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय चोरी लगायतका केही अपराधमा लागू औषधको प्रभाव देखिएको भन्दै लागू औषध नियन्त्रण गर्न सके अपराधका घटना समेत घट्ने बताए ।प्रहरी एक्लैले मात्रै अपराध नियन्त्रण गर्न सक्दैन, नागरिकको सहयोग र सहभागिता पनि उत्तिकै आवश्यक हुन्छ,”उनले भने ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक सालिक राम खनालले जेठ महिनामा प्रहरीले गरेका गतिविधि तथा प्रगति विवरण सार्वजनिक गरेका थिए । उनका अनुसार पछिल्लो समय अनलाइन ठगी तथा बैंकिङ कसुरसम्बन्धी उजुरीहरू बढी देखिएका छन् ।

पत्रकारहरूले जुम्लाको समग्र सुरक्षा अवस्था, बढ्दो अपराध, लागू औषधको अवस्था, महिला तथा बालबालिका सुरक्षाका विषयमा प्रहरीको योजना, सवारी दुर्घटना न्यूनीकरण, साइबर अपराध नियन्त्रण र दुर्गम क्षेत्रमा प्रहरी पहुँच विस्तारबारे जिज्ञासा राखेका थिए ।
पत्रकारहरूले जुम्लामा देखिएका सुरक्षा चुनौती अन्तर्गत दिउँसो हुने चोरी, अवैध यौन ब्यपार गतिविधि, बालिका तथा महिला हिंसाका घटना, साइबर ठगी लगायतका विषयमा प्रहरीको प्रभावकारी निगरानी र कार्ययोजना आवश्यक रहेको बताएका थिए ।
जवाफमा प्रहरी नेतृत्वले लागू औषध नियन्त्रणका लागि निगरानी, जनचेतनामूलक कार्यक्रम र समन्वयलाई प्रभावकारी बनाउने, महिला तथा बालबालिका सम्बन्धी घटनामा पीडित मैत्री सेवा प्रदान गर्ने, साइबर अपराधमा नागरिकलाई सचेत गराउने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ गर्ने जनाएको छ ।

त्यस्तै दुर्गम बस्तीमा प्रहरी सेवा पहुँच विस्तार, नागरिकसँग नियमित संवाद, प्रहरी सेवामा पारदर्शिता र अनुशासन कायम गर्दै जनताको विश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।डिएसपी दाहालले जिल्लाको शान्ति सुरक्षा कायम गर्न प्रहरीको सक्रियतासँगै नागरिकको सूचना, सहयोग र सहकार्य महत्वपूर्ण हुने उल्लेख गरे।

सम्बन्धित समाचार