ठेउला रोग फैलिएपछि चन्दननाथ नगरपालिकाका विद्यालय पाँच दिन बन्द
जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकाभित्रका विद्यालयमा बालबालिकामा ठेउला रोगको संक्रमण बढ्न थालेपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको सिफारिसमा नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “चन्दननाथ नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकामा केही दिनयता ठेउलाको संक्रमण व्यापक रूपमा देखिन थालेको छ । यसको संक्रमण समुदायस्तर तथा अन्य बालबालिकामा थप फैलिन सक्ने उच्च जोखिम देखिएकाले महामारीको रूप लिन नदिन समयमै नियन्त्रण गर्न आवश्यक रहेको छ ।”
चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंका अनुसार नगरपालिकाले २०८३ साल असार २ गतेदेखि असार ५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उहाँका अनुसार असार १ गते बसेको द्रुत प्रतिकार्य समितिको बैठकले संक्रमण नियन्त्रणका लागि उक्त निर्णय गरेको हो ।
यता चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले विभिन्न विद्यालयमा ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द गर्न समितिले सिफारिस गरेको जानकारी दिनुभयो । उहाँका अनुसार चन्दननाथ नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत करिब ३५ देखि ४० जना बालबालिकामा ठेउलाको लक्षण देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले पनि ठेउला संक्रमणप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालय प्रमुख किरण शर्माका अनुसार बालबालिकामा ठेउला देखिएको जानकारी प्राप्त भएपछि तत्काल विद्यालय बन्द गर्न सुझाव दिइएको हो ।
उहाँले ठेउला रोगको संक्रमण रोकथामका लागि संक्रमित बालबालिकालाई अन्यबाट टाढा राख्ने, सामाजिक दूरी कायम गर्ने, सरसफाइमा ध्यान दिने र जनचेतना फैलाउने कार्य आवश्यक रहेको बताउनुभयो ।नगरपालिकाले जारी गरेको सूचनाको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत पठाएको छ।








