मुगु तेस्रो पटक ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा

मुगु: मुगु जिल्ला तेस्रो पटक ‘पूर्णखोप सुनिश्चितता तथा दिगोपना’ जिल्ला घोषणा भएको छ। जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, खोप ढुवानीकर्ता, दातृ निकाय तथा सरोकारवाला निकायहरूको निरन्तर प्रयास र समन्वयका कारण उक्त उपलब्धि हासिल भएको हो।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक मञ्जन बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा छायाँनाथ–रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, निमित्त प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डे, जिल्ला समन्वय समितिकी उपप्रमुख नैली कार्की, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख, पत्रकार, नागरिक समाजका प्रतिनिधि, दातृ निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा जिल्लाभर उत्कृष्ट खोप सेवा प्रवाह गरेका चार स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो। साथै, लामो समयदेखि प्रत्यक्ष रूपमा खोप सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मी तथा खोप ढुवानीकर्तालाई पनि सम्मान गरी उनीहरूको योगदानको कदर गरिएको थियो।

घोषणा समारोहका अवसरमा खोप सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो।

पूर्णखोप सुनिश्चितता तथा दिगोपनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लाका चारवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले पूर्ण प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक मञ्जन बहादुर कार्कीले यस उपलब्धि हासिल गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, स्थानीय तह, दातृ निकाय, सरोकारवाला संस्था तथा नागरिकप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि पूर्णखोप सुनिश्चितता र यसको दिगोपना कायम राख्न सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहने बताए।

सम्बन्धित समाचार