गणेश नेपालीको जन्मगाउँ जलधारा शोकमा: एउटा गरिब परिवारको सपना चुँडियो, न्यायको माग चर्किँदै

मुगु: काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुको सोरु गाउँपालिका १, जलधाराका २५ वर्षीय गणेश नेपालीको निधनले उनको जन्मगाउँ गहिरो शोकमा डुबेको छ। गणेशको घर यतिबेला सुनसान छ भने गाउँभरि शोक र पीडाको वातावरण छ।

सदरमुकाम गमगढीबाट करिब ६ घण्टाको दूरीमा रहेको जलधारा गाउँमा गणेशको निधनको खबर पुगेपछि गाउँ नै स्तब्ध बनेको स्थानीय बताउँछन्। गाउँमा रोजगारीको अवसर नहुँदा गणेश केही वर्षदेखि श्रीमती, बालबच्चा र भाइसँग भक्तपुरमा डेरा गरी बस्दै आएका थिए। परिवारको जीविकोपार्जनका लागि उनले काठमाडौंमा राइड सेयरिङ सेवा (पठाओ) मार्फत मोटरसाइकल चलाउँदै आएका थिए। त्यही आम्दानी नै परिवारको मुख्य आधार थियो।

गणेशको परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको स्थानीयहरू बताउँछन्। गाउँमा पर्याप्त अन्न उत्पादन नहुने भएकाले उनका वृद्ध बुबा जीविकोपार्जनका लागि हुम्लाको तुम्च क्षेत्रमा मजदुरी गर्न बाध्य थिए। आमा भने लामो समयदेखि दम रोगबाट पीडित छिन्। छोराको निधनको खबरले वृद्ध आमाबुबा विक्षिप्त बनेका छन् भने काठमाडौंमा रहेका श्रीमती, साना बालबच्चा र भाइ शोकमा डुबेका छन्।

स्थानीय पदमबहादुर मल्लका अनुसार गणेशको परिवार अत्यन्तै विपन्न थियो। उनले पठाओ चलाउन प्रयोग गरेको मोटरसाइकलसमेत भाडामा लिएका थिए। “यो घटना हुनुहुँदैन थियो। अब घटना भइसकेपछि राज्यले संवेदनशीलता देखाउँदै पीडित परिवारको उचित संरक्षण, राहत र भविष्यको जिम्मेवारी लिनुपर्छ,” उनले भने।
अर्का स्थानीय सुरेश शाहीका अनुसार परिवारको आयस्रोत निकै न्यून थियो। गाउँमा रहेको थोरै जग्गाजमिनसमेत बाँझै रहेको छ। गरिबी र बाध्यताले एक ऊर्जावान् युवाले ज्यान गुमाउनुपरेको भन्दै उनले गहिरो दुःख व्यक्त गरे। पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराएर राज्य भएको अनुभूति गराउनुपर्ने उनको माग छ।

प्राप्त जानकारीअनुसार भक्तपुरमा डेरा गरी बस्दै आएका गणेश बिहीबार राहदानी विभाग पुगेका थिए। त्यहाँ पार्किङ गरिएको उनको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ह्वील लक लगाएर लैजाने प्रयास गरेपछि विवाद भएको थियो। प्रत्यक्षदर्शीका अनुसार सोही क्रममा उत्पन्न तनावपछि गणेशले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए।

गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरूले थप उपचारका लागि भारतको नयाँ दिल्ली रिफर गर्ने तयारी गरे पनि स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले स्थानान्तरण सम्भव हुन सकेन। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भयो।

गणेशको मृत्युपछि जन्मगाउँ जलधारादेखि काठमाडौंसम्म शोक, आक्रोश र न्यायको आवाज एकसाथ उठिरहेको छ। स्थानीयवासी, विभिन्न संघसंस्था तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा दीर्घकालीन संरक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

आर्थिक अभाव, बेरोजगारी र सहरी व्यवस्थापनका क्रममा सिर्जिएको तनावबीच एउटा विपन्न परिवारले आफ्नो मुख्य सहारा गुमाएको भन्दै गाउँलेहरू भन्छन्, “गणेशको मृत्यु एउटा परिवारको मात्र पीडा होइन, राज्यले सुन्नुपर्ने एउटा गम्भीर सामाजिक प्रश्न पनि हो।

सम्बन्धित समाचार