जुम्लामा १.४१० ग्राम चरेससहित दुई जना पक्राउ
जुम्ला: जुम्लामा लागूऔषध (चरेस) सहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार असार २५ गते बिहान करिब १०:१० बजे चन्दननाथ नगरपालिका–१ भाङखोली स्थित डिल्ली चौर सडक खण्डमा शंकास्पद अवस्थामा हिँडिरहेका कनकासुन्दरी गाउँपालिका–१ मर्फाका २१ वर्षीय गणेश भण्डारीलाई प्रहरीले जाँच गरेको थियो।
शरीर खानतलासीका क्रममा उनको साथबाट चरेस जस्तो देखिने कालो पदार्थ ९५० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा उक्त पदार्थ उनले पातारासी गाउँपालिका २ तल्फीका २५ वर्षीय रामकृष्ण बोहोरासँग खरिद गरेको बताएका थिए।
त्यसपछि प्रहरीले बोहोराको घर तथा उनले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा टेबुलको घर्राभित्र लुकाइराखिएको चरेस जस्तो देखिने थप ४६० मिलिग्राम कालो पदार्थ बरामद गरेको जनाएको छ।दुवै स्थानबाट बरामद गरिएको लागूऔषधको कुल परिमाण १.४१० ग्राम रहेको प्रहरीले जनाएको छ।
लागूऔषध सम्बन्धी कसुरमा दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालत जुम्लाबाट पाँच/पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्देश बरालले जानकारी दिएका छन्।









