जुम्लामा कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सुरु

आठ जिल्लाका खेलाडी सहभागी, उत्कृष्ट खेलाडीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने

जुम्ला : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता जुम्लामा सुरु भएको छ। कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लाका खेलाडीको सहभागितामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो।१८ वर्षमाथिका महिला तथा पुरुष खेलाडी सहभागी प्रतियोगिताको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले एक समारोहबीच उद्घाटन गरेका हुन्।

प्रतियोगितामा दैलेख, सुर्खेत, रुकुमपश्चिम, सल्यान, जुम्ला, कालिकोट, जाजरकोट र मुगु जिल्लाका खेलाडी सहभागी भएका छन्। साविक कर्णालीका डोल्पा र हुम्लाका खेलाडी भने छनोट प्रतियोगितामा सहभागी छैनन्।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार प्रतियोगितामा तेक्वान्दो छनोटका प्राविधिक टोली तथा कर्णाली प्रदेश तेक्वान्दो समितिका पदाधिकारीको सहभागिता रहेको छ।

जुम्लामा सञ्चालन भइरहेको प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ। प्रतियोगितामा स्थानीय खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक लालबहादुर रोकायाले बताए। उनका अनुसार प्रतियोगिताले जुम्लाका खेलाडीलाई आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख आचार्यले खेलाडी छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन आग्रह गरे। प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले राष्ट्रिय प्रतियोगितामा समेत राम्रो नतिजा ल्याउने विश्वास उनले व्यक्त गरे।

त्यस्तै, कर्णाली खेलकुद परिषद्का सदस्य तथा जुम्ला र कालिकोट जिल्लाका खेल संयोजक पंखबहादुर मल्लले तेक्वान्दो विधामा उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने बताए। खेलकुदका माध्यमबाट कर्णाली प्रदेशलाई राष्ट्रियस्तरमा अग्रस्थानमा पुर्‍याउन सकिने उनको भनाइ छ।

जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख न्यौपानेले जुम्लामा सञ्चालन भएको छनोट प्रतियोगिताले स्थानीय खेलाडीमा थप ऊर्जा र उत्साह जगाउने बताए। उनका अनुसार प्रतियोगिता असोज २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो प्रतिभा, क्षमता र खेलकौशल प्रदर्शन गर्नेछन्।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशका विभिन्न जिल्लामा छनोट खेल सञ्चालन भइरहेका छन्। प्रदेशस्तरीय छनोट प्रतियोगिताले प्रतिभावान् खेलाडी पहिचान गर्नुका साथै राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशको बलियो प्रतिनिधित्व सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार