मुगुमा खुकुरी प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ

मुगु:मुगुको छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडामा धारिलो हतियार (खुँडा) प्रहार गरी एक ७५ वर्षीय वृद्धको हत्या गरिएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३२ वर्षीय अजबिर कामीलाई हतियारसहित पक्राउ गरेको छ।

स्थानीय अजबिर कामीले सोही ठाउँका ७५ वर्षीय धनबिर कामीमाथि सोमबार बिहान करिब ८:२० बजे धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ। हतियार प्रहारबाट गम्भीर घाइते भएका धनबिरलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको थियो। तर, अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि फरार भएका आरोपितको खोजीका लागि जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाको कमान्डमा ३५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।

खोजीमा खटिएको प्रहरी टोलीले बिहान करिब ९:३० बजे छायाँनाथ रारा नगरपालिका–३ स्थित रारा ताल जाने जंगलमा भागिरहेको अवस्थामा अजबिर कामीलाई हतियारसहित नियन्त्रणमा लिएको डीएसपी थपलियाले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका आरोपितलाई जिल्ला प्रहरी कार्यालय मुगु ल्याउने प्रक्रिया अघि बढाइएको छ। घटनाको कारण भने खुल्न सकेको छैन।

मृतक धनबिरको शव जिल्ला अस्पताल मुगुमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार