पहिरोमा पुरिएका जेसीबी चालक बिमल बागको मृत्यु, सहचालक सामान्य घाइते
मुगु : सडकमा खसेको पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीबी चालक बिमल बागको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा घाइते भएका सहचालकको अवस्था भने सामान्य रहेको छ।
सोमबार बिहान ९:४० बजे पहिरो खसेपछि पहिरो पन्छाउने क्रममा जेसीबी चालक बाग पहिरोमा पुरिएका थिए। उनलाई अर्को जेसीबीको सहायताले उद्धार गरी बिहान १०:३० बजे बा.प्र. ०१००४ क ६४८३ नम्बरको ट्रकमा राखेर प्राथमिक स्वास्थ्य केन्द्र रातापानीतर्फ लगिएको थियो।
तर, गम्भीर अवस्थामा रहेका बागलाई मध्याह्न १२:१० बजे प्राथमिक स्वास्थ्य केन्द्र रातापानी पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविराज थपलियाले जानकारी दिएका छन्।
घटनामा घाइते भएका सहचालकलाई उपचारका लागि खत्याड गाउँपालिका–५, माझचौरस्थित चन्दनाथ पोलिक्लिनिकमा लगिएको थियो। हाल उनको अवस्था सामान्य रहेको र सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पहिरो पन्छाउने क्रममा प्रयोग गरिएको जेसीबी घटनास्थलमै रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।









