अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई छायाँनाथ रारा नगरपालिकाको एक,एक लाख प्रोत्साहन

मुगु:मुगुको छायाँनाथ रारा नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई प्रोत्साहनस्वरूप जनही एक लाख रुपैयाँ सहयोग गरेको छ। जातीय विभेद तथा छुवाछुतजस्ता सामाजिक कुप्रथाको न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले उक्त सहयोग गरेको हो।
बिहीबार नगरपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा दलित समुदायभित्र अन्तरजातीय विवाह गरेका दुई जोडीलाई जनही एक लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको हो। कार्यक्रममा जोडीहरूलाई फूलमाला र अबिर लगाएर सम्मानसमेत गरिएको थियो।
प्रोत्साहन रकम प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका–१०, झाकोटका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नम्बर १३, थार्पका मानसिंह नेपाली र सरिता सेजुवाल रहेका छन्।
छायाँनाथ रारा नगरपालिकाको दलित ऐन, २०८० अनुसार नगरपालिकाले विगतका वर्षदेखि नै अन्तरजातीय विवाह गर्ने जोडीलाई जनही एक लाख रुपैयाँ सहयोग गर्दै आएको जनाएको छ। चालु वर्षमा चार जोडीलाई सम्मान तथा प्रोत्साहन रकम उपलब्ध गराउने योजना रहे पनि बिहीबार दुई जोडी मात्रै उपस्थित भएकाले उनीहरूलाई रकम हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। बाँकी दुई जोडीलाई दशैँपछि प्रोत्साहन रकम उपलब्ध गराउने तयारी भइरहेको छ।
नगरप्रमुख विष्णुकुमार भामले नगरपालिकाबाट प्राप्त प्रोत्साहन रकमको उचित सदुपयोग गर्न आग्रह गरेका छन्। जातीय विभेद र छुवाछुत अन्त्य गर्दै सामाजिक सद्भाव तथा समानताको भावना विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘अन्तरजातीय विवाह गरेपछि पनि माइतीसँग सम्बन्ध राम्रो छ’
प्रोत्साहन रकम प्राप्त गरेकी पवित्रा चौलागाईंले काठमाडौंमा अध्ययन गर्ने क्रममा चिनजान भएपछि आफूहरूबीच प्रेम सम्बन्ध विकसित भएको र पछि विवाह गरेको बताइन्।
उनका अनुसार विवाह भएको ६–७ वर्ष भइसकेको छ। आफू बाहुन समुदायकी छोरी भए पनि दलित समुदायका युवकसँग विवाह गरेपछि माइती पक्षबाट कुनै अवरोध नभएको उनले बताइन्।
“विवाहबारे आमाबुबालाई जानकारी गराउँदा उहाँहरूले कुनै विरोध गर्नुभएन। ‘छोरी, तिम्रो भाग्य त्यही रहेछ, के गर्ने’ भन्नुभयो। अहिले हामी दुवै जना माइती घर जाने–आउने गर्छौँ। नगरपालिकाले हाम्रो जोडीलाई सम्मानस्वरूप दिएको एक लाख रुपैयाँ राम्रो काममा लगानी गर्नेछौँ,” उनले भनिन्।
नगरपालिकाबाट प्रोत्साहन रकम पाउँदा आफू निकै खुसी भएको पनि चौलागाईंले बताइन्।
अर्की लाभग्राही सरिता सेजुवालले अन्तरजातीय विवाह गरेको चार–पाँच वर्ष भएको बताइन्। उनका अनुसार माइतीमा आमाबुबाले विरोध नगरे पनि दाजुले भने दलित समुदायमा विवाह गरेको भन्दै अहिलेसम्म स्वीकार गर्न नसकेको अवस्था छ।
“जन्मघरमा आमाबुबाले केही भन्नुहुन्न, तर दाजुले दलितको घरमा विवाह गरिस् भन्दै अहिलेसम्म स्वीकार गर्नुभएको छैन। जीवनभरको सहारा भनेको श्रीमान् हो। अहिले श्रीमान्, सासू–ससुरा, घरपरिवार र छरछिमेकीबाट राम्रो माया पाएकी छु। दलित समुदायमा विवाह गरेकोमा मलाई कुनै पछुतो छैन,” उनले भनिन्।
नगरपालिकाबाट प्राप्त एक लाख रुपैयाँको उचित सदुपयोग गरी भविष्य निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउँदै सेजुवालले सहयोगका लागि नगरपालिकालाई धन्यवाद दिइन्।
जातीय विभेद र छुवाछुतजस्ता कुप्रथा अझै समाजका विभिन्न तहमा कायम रहेका बेला अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले सामाजिक समानता, आपसी सम्मान र समावेशी समाज निर्माणमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।







