सामाजिक विकास कार्यालय जुम्लाको वार्षिक प्रगति सार्वजनि: महिला विकास अधिकृत पदपूर्तिको माग
जुम्ला:सामाजिक विकास कार्यालय जुम्लाले आर्थिक वर्ष २०८२र०८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी वक्ताहरूले सामाजिक क्षेत्रका कार्यक्रमलाई प्रभावकारी बनाउन, महिला विकास अधिकृतको रिक्त दरबन्दी तत्काल पूर्ति गर्न तथा जिल्लाको आवश्यकता अनुसार योजना तर्जुमा गर्नुपर्नेमा जोड दिएका छन्।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सबै कुरा बोल्ने मात्र नभई कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए। उनले सामाजिक विकास कार्यालयले वर्षभरि गरेका काम सार्वजनिक गरेकोमा धन्यवाद व्यक्त गर्दै महिला तथा बालिकाको क्षेत्रमा काम गर्ने कार्यालयमा महिला विकास अधिकृतको दरबन्दी लामो समय देखि रिक्त रहनु दुःखद भएको बताए।
उनले सामाजिक विकास कार्यालयले भौतिक पूर्वाधारतर्फका कार्यक्रमको प्रगति पारदर्शी रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै पछिल्लो समय अनुगमनमा जनप्रतिनिधिलाई सहभागी नगराइएको गुनासो गरे। कार्यालयले प्राविधिक जनशक्तिको अभाव रहेको बताइरहे पनि जिल्ला समन्वय समितिमा प्राविधिक कर्मचारी उपलब्ध रहेको उल्लेख गर्दै भौतिक निर्माणका योजनाबारे समन्वय समितिलाई जानकारी नगराइएको बताए।
निर्माण कार्यको गुणस्तर मूल्याङ्कनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले समीक्षा कार्यक्रममा सबै स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलाई समेत सहभागी गराउनुपर्ने उनको भनाइ थियो।
जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले सामाजिक क्षेत्रमा सहकार्य गर्न सधैं तयार रहेको बताउँदै जिल्लाको विकास निर्माण र सामाजिक सरोकारका विषयमा समन्वय समिति निरन्तर सक्रिय रहेको बताए।
प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले सरसफाइ, लागूऔषध दुव्र्यसन, यौन दुर्व्यवहारलगायत सामाजिक विकृतिविरुद्ध वार्षिक योजना बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याए। सामाजिक विकास कार्यालयले आफ्नो नाम र उद्देश्यअनुसार सामाजिक क्षेत्रमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।
जिल्ला समन्वय समिति जुम्लाका समन्वय अधिकारी रोमबहादुर महतले कार्यालयले गरेका काम सकारात्मक भए पनि जिल्लाबाट दिइने सुझावहरूको कार्यान्वयन कमजोर रहेको बताए। कर्णाली प्रदेशलाई डिजिटल प्रदेश घोषणा गरिए पनि भवन निर्माणभन्दा सामाजिक क्षेत्र, शिक्षा र प्रतिभा पहिचानका कार्यक्रममा बढी लगानी गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।
सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढालले कार्यालयको वार्षिक प्रगति, चुनौती तथा आगामी कार्यदिशाबारे प्रस्तुति दिएका थिए। उनले जिल्लाबाट सिफारिस गरिएका योजना छनोट नहुने र माथिबाट सिफारिसका आधारमा कार्यक्रम आउने गरेको गुनासो गरे। त्यसका कारण स्थानीय आवश्यकता भन्दा फरक कार्यक्रम कार्यान्वयन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।
उनले गत आर्थिक वर्ष उच्च शिक्षा छात्रवृत्तिमा करिब १८ लाख रुपैयाँ विनियोजन भएकोमा चालु वर्ष १२ लाख रुपैयाँ मात्र विनियोजन गरिएको उल्लेख गरे ।उक्त छात्रवृत्ति छोरी–बुहारी तथा अपाङ्गता भएका विद्यार्थीले पाउने व्यवस्था रहेको जानकारी दिँदै महिला तथा बालबालिकाका क्षेत्रमा प्राविधिक जनशक्ति अभावले प्रभावकारी काम गर्न कठिन भएको बताए ।
उनले कार्यालयको नाम सामाजिक विकास भए पनि अधिकांश बजेट भवन निर्माणमा केन्द्रित हुँदा महिला, बालबालिका र युवामुखी कार्यक्रम सञ्चालनमा कठिनाइ भएको बताए। गत आर्थिक वर्षको तुलनामा सामाजिक क्षेत्रका कार्यक्रम घटेको, महिला विकास अधिकृतको छ वटा दरबन्दी रिक्त रहेको तथा जनशक्ति अभावका कारण अपेक्षित काम गर्न नसकिएको जानकारी दिए।
त्यस्तै महिला जागरणकी अध्यक्ष तथा महिला अधिकारकर्मी दिलमाया शाहीले सामाजिक विकास कार्यालय स्थापना भएदेखि नै महिला विकास अधिकृतको पद रिक्त रहेको बताइन्। कार्यालयले नामअनुसार सामाजिक क्षेत्रमा पर्याप्त काम गर्न नसकेको बताइन ।
शाहीले लागूऔषध दुव्र्यसन, बाल यौन दुर्व्यवहार, घरेलु हिंसा, सामाजिक सञ्जालको दुरुपयोग, बाल बेचबिखन, बालश्रम तथा बालबालिकालाई विभिन्न बहानामा घरबाट टाढा पठाउने जस्ता समस्या बढ्दै गएको उल्लेख गर्दै यस्ता विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्।
नेपाल पत्रकार महासंघ जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले सामाजिक जागरणका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने, महिला विकास अधिकृतको दरबन्दी किन वर्षौंदेखि रिक्त छ भन्ने विषयमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए। उनले जिल्लाको आवश्यकता विपरीत आउने योजनालाई निरुत्साहित गर्नुपर्ने तथा सञ्चारमाध्यममार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए। कार्यक्रममा शिक्षक, पत्रकार, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण कुटिरो मिडियाले गरेको थियो ।











