जुम्लाको राजनीति : विचारभन्दा माथि गयो समीकरण
जुम्ला :जुम्लामा यसपटकको निर्वाचनले स्थानीय राजनीतिकोवास्तविक चरित्रलाई नयाँ ढङ्गले उजागर गरेको छ। सामान्यतः निर्वाचन विचार, नीति र दलगत आस्थाको प्रतिस्पर्धा हुनुपर्ने हो। तर जुम्लामा भने यसपटक धेरै दलहरूले आफ्नो वैचारिक आधारभन्दा पनि राजनीतिक समीकरण र तत्कालीन स्वार्थलाई प्राथमिकता दिएको देखियो।
आफ्नो विचार र सिद्धान्तका आधारमा फरक राजनीतिक धार बोकेका दलहरूबीच अस्वाभाविक समीकरण बनेको दृश्य प्रस्ट देखियो।
आफूलाई ठूला दलका रूपमा स्थापित गर्दै आएका कांग्रेस र एमालेका केही नेता–कार्यकर्ताले आफ्नै उम्मेदवारलाई जिताउने भन्दा पनि अर्का उम्मेदवारलाई हराउने रणनीतिमा बढी ध्यान दिएको देखियो। यही कारणले गणतन्त्रवादी दलहरूबीच प्रतिस्पर्धा मात्र होइन, रणनीतिक ध्रुवीकरणसमेत देखियो।
यसै सन्दर्भमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीलाई रोक्ने उद्देश्यले विभिन्न दलका नेता–कार्यकर्ताहरू अप्रत्यक्ष रूपमा राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाहीतर्फ झुकेको चर्चा राजनीतिक वृत्तमा सुनिन थाल्यो। नरेश भण्डारीले जिते संगठन बलियो बन्ने र विकासका एजेन्डा अघि बढ्ने सम्भावना देखेर उनलाई रोक्ने रणनीति अपनाइएको भन्ने विश्लेषण पनि भइरहेको छ।
निर्वाचन परिणामले पनि त्यसको संकेत गरेको देखिन्छ। नेपाली कम्युनिस्ट पार्टी उपविजेता बन्यो भने राप्रपाका उम्मेदवार विजयी भए। रोचक पक्ष के देखियो भने केही कांग्रेस र एमाले समर्थकहरूले आफ्नै दलको हारमा खासै दुःख व्यक्त नगरी ‘हलोलाई जिताउन सफल भयौँ’ भन्ने ढङ्गले उत्सव मनाएको दृश्य सामाजिक सञ्जाल र स्थानीय गतिविधिमा देखियो। यसले जुम्लाको राजनीतिमा विचारभन्दा रणनीतिक गठजोड बढी प्रभावशाली बनेको संकेत गर्छ।
तर जुम्लाको राजनीतिमा अर्को झन् रोचक र गम्भीर पक्ष पनि देखिएको छ।यहाँ राजनीति कहिलेकाहीँ विचारको मैदानभन्दा व्यापारिक थलो जस्तो बन्न थालेको आरोप लाग्न थालेको छ। कतिपय राजनीतिक कार्यकर्ताहरूलाई हेर्दा उनीहरू कुनै विचार, सिद्धान्त वा दलगत आस्थाबाट होइन, कसले कति लगानी गर्छ भन्ने आधारमा सक्रिय हुने प्रवृत्ति बढेको देखिन्छ।
स्थानीय स्तरमा त यस्तो टिप्पणीसमेत सुनिन थालेको छ।
“जुम्लामा केही मतदाताले मतदान होइन, मतको मूल्य निर्धारण गर्छन्।”
अर्थात् उनीहरू जुनसुकै दलमा आस्था राखे पनि अन्तिम क्षणमा पैसा वा व्यक्तिगत स्वार्थ अनुसार चिन्ह परिवर्तन गर्ने प्रवृत्ति देखिन्छ। यसले लोकतन्त्रको मूल भावना कमजोर बनाउने खतरा पनि देखिन्छ। जब राजनीति विचारभन्दा लेनदेनको आधारमा चल्न थाल्छ, त्यतिबेला दलहरू मात्र होइन, लोकतान्त्रिक मूल्यहरू पनि जोखिममा पर्न सक्छन्।
यसपटक राप्रपाले समानुपातिकतर्फ मात्रै ६ हजारभन्दा बढी मत प्राप्त गर्नु पनि जुम्लाको बदलिँदो राजनीतिक मनोविज्ञानको संकेतका रूपमा हेरिएको छ।
राजनीतिमा अस्थायी सहकार्य सम्भव हुन्छ। तर दीर्घकालीन रूपमा विचार, संगठन र जनविश्वास नै निर्णायक शक्ति हुने गर्छ। जुम्लाको पछिल्लो निर्वाचनले पनि यही प्रश्न उठाएको छ।
के दलहरूले आफ्नो वैचारिक आधार जोगाउने कि क्षणिक समीकरण र स्वार्थमा अल्झिने?
समयले यसको उत्तर दिनेछ। तर अहिलेको अवस्थाले भने जुम्लाको राजनीतिमा विचार, स्वार्थ र रणनीतिक गठबन्धनबीचको द्वन्द्व अझ प्रस्ट भएको देखिन्छ।







