छायानाथ धामको तीर्थयात्रा सुरु, १५ भन्दा बढी जिल्लाबाट भक्तजनको घुइँचो

 मुगु :विश्वका चार प्रमुख पवित्र तीर्थस्थलहरूमध्ये एक मानिने छायानाथ धामको वार्षिक तीर्थयात्रा साउन १६ गतेदेखि सुरु भएको छ। मुगुको छायानाथ रारा नगरपालिका–२ स्थित चैन गाउँमा रहेको शिव मन्दिरबाट सुरु भएको यात्रामा शिवजीको मूर्ति बाजागाजा, पुजारी तथा सुरक्षा टोलीसहित मुगुमकार्मारोङ गाउँपालिकाअन्तर्गत डोल्फु क्षेत्रको छायानाथ मन्दिरमा लगिएको हो।

शिवजीको यो मूर्ति श्रावण शुक्ल अष्टमीका दिन छायानाथ धाममा नुहाइने परम्परा अनुसार जनैपूर्णिमासम्म मन्दिरमै रहनेछ। जनैपूर्णिमा पर्वमा पाँच दिनसम्म पूजापाठ, होम, व्रतलगायतका धार्मिक कार्यक्रमहरू आयोजना गरिन्छन्।

पुजारी सनत कुमार हमालका अनुसार, जनैपूर्णिमा आसपास छायानाथ धाममा दर्शनका लागि मुगु, जुम्ला, हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटीलगायत १५ भन्दा बढी जिल्लाबाट तीर्थालु तथा धामीझाँक्रीहरू आउने गर्छन्।

धार्मिक मान्यताअनुसार, सत्य युगमा सत्यदेवीका अंगहरू पतन भएका थलोहरूमध्ये अन्तिम अंग छायानाथमा खसेको जनविश्वास रहेको छ। विष्णुले झिंगा उत्पादन गरेर सत्यदेवीको शरीरलाई खण्ड–खण्ड पारेपछि महादेवले बोकेको शरीरको अन्तिम भाग यही ठाउँमा खसेकोले यो स्थल पवित्र मानिएको हो।

तीर्थालुहरू श्राद्ध, होम, व्रतबन्धलगायत विभिन्न धार्मिक अनुष्ठानका लागि आउने गर्छन्। कोही देवताको घण्टमाला पवित्र बनाउन, कोही वरदान माग्न तथा कोही झाँक्री स्वरूपमा आउने परम्परा रहेको छ।

समुद्री सतहबाट झण्डै ५,००० मिटर उचाइमा अवस्थित छायानाथ धामलाई विश्वकै उच्च धार्मिक स्थलका रूपमा पनि चिनिन्छ। समाजसेवी ऐन बहादुर हमालका अनुसार, “छायानाथ पुगेपछि मानिसले गरेका पापहरू क्षमा हुने र मनोकांक्षा पूरा हुने” विश्वास व्यापक रहेको छ।

यसैबीच, भोलि साउन १७ गते नवमीका दिन अर्को प्रसिद्ध धार्मिक स्थल ऋणमोचन मन्दिरमा पनि छायानाथ मन्दिरको अर्को मूर्ति लिएर भक्तजन जाने तयारी गरिएको छ। त्यहाँ पनि जिल्लाभित्र र बाहिरका हजारौँ भक्तजनहरूको सहभागिता रहने अपेक्षा गरिएको  छ ।

सम्बन्धित समाचार