मानव अधिकारको प्रत्याभूति सबै नागरिकलाई सुनिश्चित गरिन्छ:प्रमुख कल्पना नेपाल आचार्य


जुम्ला — राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला शाखाको प्रमुखका रूपमा हालै जिम्मेवारी सम्हालेकी कल्पना नेपाल आचार्यले सबै नागरिकलाई मानव अधिकारको प्रत्याभूति हुने गरी कार्यालय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन ।

उनले पदभार ग्रहण गरेसँगै झन्डै दुई वर्षदेखि निष्क्रिय अवस्थामा रहेको आयोगको जुम्ला शाखा पुनः सक्रिय बन्न थालेको छ। यसले जिल्लामा मानव अधिकारको क्षेत्रमा जनअपेक्षा र आशा पुनः जागृत भएको देखिन्छ।

पदभार ग्रहण समारोहमा उनले भनिन्, “जुम्ला जस्तो दुर्गम जिल्लामा मानव अधिकारका थुप्रै चुनौतीहरू होलान । यसलाई हामी संयोजन, समन्वय र सक्रियताका साथ काम गरेर नागरिकका आधारभूत हक सुनिश्चित गर्न लागी पर्ने छौँ ।

प्रमुख आचार्यले बालविवाह, बहुविवाह, घरेलु हिंसा, बालिकामाथिको यौन हिंसा, अपांगता भएका व्यक्तिहरूको अधिकार, तथा जेष्ठ नागरिकका विषयमा विशेष प्राथमिकता दिने बताएकी छन्। उनका अनुसार आयोगले अब हिंसा पीडित, महिला, बालबालिका, अपांगता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहहरूका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्ने तयारी गरेको छ।

उनले स्थानीय सरकार, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारमाध्यम तथा प्रत्यक्ष पीडितहरूसँग सहकार्य गर्दै न्यायमा पहुँच सहज बनाउने लक्ष्य लिएको पनि जानकारी दिइन्। साथै, मानव अधिकार हननका घटनामा तत्काल हस्तक्षेप र अनुसन्धान थालिने स्पष्ट संकेत दिइएको छ।

जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले प्रमुख कल्पना नेपाल आचार्यको नेतृत्वबाट जिल्लामा मानव अधिकारका सवालमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरे। साथै, उनले जुम्लाबासीको तर्फबाट नयाँ प्रमुखलाई हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।