तरुण दलमा विवाद चर्किदैँ,पाँच अध्यक्ष उम्मेदवारको संयुक्त विरोध

गैरकानुनी समिति,अस्वीकार, निर्वाचनको माग
जुम्ला :नेपाल तरुण दल जुम्लामा नयाँ कार्य समिति गठनसँगै संगठन भित्रको विवाद चुलिएको छ। हेम बुढ्थापाको अध्यक्षतामा नयाँ समिति घोषणा भए पछि बाँकी पाँच अध्यक्ष पदका उम्मेदवारले त्यसको विरोध गर्दै संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्।
संजीव रावल, रतन बहादुर शाही, विरेन्द्र शाही, भरत बहादुर शाही र राजेन्द्र श्रेष्ठले विज्ञप्तिमार्फत समितिलाई “गैरकानुनी”भन्दै अस्वीकार गरेका हुन्। उनीहरूको दाबी अनुसार, नेपाली कांग्रेसको निर्णयअनुसार निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुनु पर्नेमा सहमति नै नबनी “सर्वसम्मत” भन्दै मनोनयनमार्फत समिति गठन गरिएको हो। उनीहरूले निर्वाचन समिति माथि पार्टी नेतृत्वको निर्देशनको उल्लंघन गर्दै एकपक्षीय निर्णय गरेको आरोपसमेत लगाएका छन्।
विज्ञप्तिमा उनीहरूले संगठनको आन्तरिक लोकतन्त्रमा विश्वास राख्ने उल्लेख गर्दै तत्काल विधिसम्मत निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्न माग गरेका छन्।यो विवादसँगै जिल्लाको युवा राजनीतिमा तरंग उत्पन्न भएको छ। आगामी दिनमा पार्टी नेतृत्वले कसरी समन्वय गर्ने भन्नेमा चासो बढेको छ।
जिल्ला अधिवेशनको उद्घाटन सत्र र त्यसपछिको क्रियाशील बैठकहरू सम्पन्न भइसकेको सन्दर्भमा निर्वाचन समितिले सहमतिको प्रयासलाई बेवास्ता गर्दै अधिवेशन कार्यक्रम अगाडि बढाएको भन्दै तरुण दलका केही नेता  तथा कार्यकर्ताले असन्तुष्टि जनाएका हुन ।
नेपाल तरुण दलका अनुसार, मिति २०८२ /४/१४ गते पार्टी पदाधिकारी, निर्वाचन समिति र अध्यक्ष पदका उम्मेदवारहरूको सहभागितामा बसेको बैठकले “सहमतिको आधारमा अधिवेशन गरिने” निर्णय गरेको थियो। तर, मिति २०८२/४/१५ को बैठकमा सहमति हुन नसकेकाले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरिए पनि निर्वाचन समितिले गलत मनसायले अधिवेशन कार्यसमिति र प्रतिनिधिहरूको सूची सार्वजनिक गरेको आरोप  समेत प्रेस बिज्ञाप्ती मार्फत लगाइएको छ।उक्त बिज्ञाप्तीमा तरुण दलले उक्त कार्यलाई “गलत नियत र लोकतान्त्रिक प्रक्रियाविरुद्धको कदम”भन्दै निन्दा गरेको छ।