जुम्ला प्रशासन नेतृत्वको पाँच जनाको सरकारी टोली बडिमालिका प्रस्थान (फोटोफिचर)
जुम्लाः जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालीका भगवती मन्दिरको पूजाआजाका लागि यसतर्फ जुम्लाको एक सरकारी टोली प्रस्थान गरेको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्वा बिष्णु बहादुर महत नेतृत्व तथा पुजारी विष्णुप्रसाद उपाध्याय टोली बडिमालिका प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्लपूर्णिमा नाग पञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलन अनुसार सोमबार जुम्लाको टोली बडिमालिका गएको जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए ।उनका अनुसार यस पटक पाँच जनाको टोली बडिमालिका तर्फ गएको हो । उनका अनुसार नेपाली सेनाको एक टुकुटीले बटुक भैरवनाथ, बाबा चन्दननाथ र दरबार मालिकाको सलामी अर्पण,पाँच वटा सलामी,ब्यान्डबाजा र बिगुल फुकेर पूजाको डोली सहित बडिमालिका हिँडेको टोलीलाई भव्य बिदाइ गरिएको छ ।

परम्परादेखि नै हरेक नाग पञ्चमीका दिन जुम्लाको सरकारी टोली पूजाका लागि बडिमालिका जाने चलन रहेको छ । डोटी बाजुराको टोली बडिमालिका आउने जुम्लाको टोली बडिमालीका पुगेर संयुक्त पूजा गर्ने प्रचलन छ । नेपाली सेनाको सलामीसहित टोलीलाई जुम्लाका सयौँ भक्तजन,सरकारी तथा गैससका प्रतिनिधिहरूले फूलमाला अबिर सहित बिदाइ गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू(पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छउनका अनुसार बाडिमालिकाको टोली पुगेपछि जुम्लामा जात्रा लाग्ने चलन छ ।

यो टोली बाजुराबाट कृष्ण अष्टमीको अघिल्लो दिन फर्किएपछि भोलिपल्ट लाख्य काट्ने चलन छ। विदाई गर्न आएका स्थानीयले आफ्नो मनको ईच्छा पुरा हुने आशमा अक्षता नासो पठाउने गर्दछन । हजारौँको संख्यामा विदाई गर्न आएकाहरूले टोलीको यात्रा सफलताका साथै जुम्लाका सम्पुर्ण काममा सफलता मिल्ने कामना गर्ने गर्दछन्। जुम्लाबाट लिएको अक्षता, फूलपाती बडिमालिकामा चढाइन्छ।


















