सामाजिक अभियन्ता रेशमचन्द्रको पहलमा ललि कार्कीको उपचारका लागि दुई लाख सहयोग जुट्यो

मुगु :लामो समयदेखि घाँटीसम्बन्धी जटिल स्वास्थ्य समस्यासँग जुधिरहेका मुगुका ४० वर्षीय ललि कार्कीको उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग जुटेको छ। कार्की हाल काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत छन्।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि सामाजिक अभियन्ता एवं शाही युवा शक्ति नेपालका महामन्त्री रेशमचन्द्र मल्लको पहलमा ‘ललि कार्की बचाउ अभियान’ सञ्चालन गरिएको थियो। अभियानमार्फत विभिन्न व्यक्ति तथा निकायबाट हालसम्म दुई लाख रुपैयाँ सहयोग संकलन भएको मल्लले जानकारी दिए। उनका अनुसार कार्कीको उपचारका लागि सहयोग जुटाउने क्रम अझै जारी छ।

मल्ल मंगलबार वीर अस्पताल पुगेर कार्कीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। कार्कीको स्वास्थ्यमा सुधार आएको देखेपछि आफूलाई खुसी लागेको उनले बताए।

“कार्कीको स्वास्थ्यमा सुधार आएको देख्दा मलाई निकै खुसी लाग्यो। आर्थिक अभावका कारण अस्पतालको बेडमा उपचार गराउन कठिनाइ भइरहेको अवस्थामा मनकारी व्यक्तिहरूले गरेको सहयोग उहाँका लागि ठूलो आधार बनेको छ,” मल्लले भने।

उनले कार्कीको उपचारमा सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै थप सहयोगका लागि पनि आग्रह गरेका छन्।

मुगुको सोरु गाउँपालिका–६, सोरुकोट रोकायाबाडाका कार्कीलाई परिवारले उपचारका लागि काठमाडौं ल्याएर वीर अस्पतालमा भर्ना गरेको हो। अस्पतालको नयाँ भवनमा करिब दुई सातादेखि चिकित्सकको निगरानीमा उनको उपचार भइरहेको आफन्तले बताएका छन्।

उपचारमा सहयोग गरिरहेका अक्कल बुढाका अनुसार केही समयअघि कार्कीको स्वास्थ्य अवस्था निकै गम्भीर थियो। उनलाई बोल्न र खाना खानसमेत कठिनाइ हुने गरेको थियो। अहिले भने स्वास्थ्यमा क्रमिक सुधार आएको र बोल्न तथा खाना खान सक्ने भएको बुढाले बताए।

“पहिलेको अवस्था हेर्दा यस्तो सुधार होला भन्ने कल्पना पनि थिएन। अहिले बोल्न र खाना खान सक्ने भएका छन्। स्वास्थ्यमा धेरै सुधार आएको छ,” बुढाले भने।

उपचार खर्च जुटाउन कठिनाइ

कार्कीको परिवारको आर्थिक अवस्था कमजोर भएकाले काठमाडौं आएर उपचार गराउनु परिवारका लागि ठूलो चुनौती बनेको थियो। प्रारम्भिक उपचारकै क्रममा औषधि किन्न रकम अभाव भएपछि मोबाइल फोनसमेत धरौटी राखेर सापटी लिनुपरेको बुढाले बताए।

आर्थिक अभावकै कारण उपचार प्रभावित हुन सक्ने अवस्था देखिएपछि कार्कीको उपचारका लागि सहयोग जुटाउने अभियान सुरु गरिएको हो। उनको जटिल स्वास्थ्य अवस्था र कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै सामाजिक अभियन्ता मल्लको पहलमा अभियान सञ्चालन गरिएको बुढाले बताए।

सहयोगपछि उपचारमा सहजता

उपचारका लागि आर्थिक सहयोग जुटेपछि कार्कीको औषधि तथा अन्य उपचार खर्च व्यवस्थापन गर्न केही सहज भएको आफन्तहरूले बताएका छन्। आर्थिक अभावका कारण उपचार रोकिने हो कि भन्ने चिन्तामा रहेका परिवारमा सहयोगी हातहरू अघि बढेपछि आशा पलाएको छ।

“सहयोग गर्ने मनकारी व्यक्तिहरू नभएको भए उपचारमा निकै समस्या हुने थियो। अहिलेसम्म करिब दुई लाख रुपैयाँ सहयोग जुटेको छ,” बुढाले भने।

कार्कीको स्वास्थ्य अवस्था सुरुमा निकै गम्भीर भएकाले परिवार र आफन्तले उनको जीवनबारे समेत चिन्ता व्यक्त गरेका थिए। अहिले उपचारपछि स्वास्थ्यमा सुधार देखिएसँगै परिवारमा आशा बढेको छ।

मुगुको दुर्गम गाउँबाट उपचारका लागि काठमाडौं ल्याइएका कार्कीको अवस्थाबारे जानकारी सार्वजनिक भएपछि स्थानीयदेखि काठमाडौंसम्मका विभिन्न व्यक्ति तथा संस्थाले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरिरहेका छन्। संकलित रकम कार्कीको औषधि तथा उपचारमा खर्च भइरहेको आफन्तले बताएका छन्।

वीर अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेका कार्कीको स्वास्थ्यमा सुधार देखिन थालेपछि परिवारले उपचारमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

सम्बन्धित समाचार