जुम्लामा निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न राजनीतिक दलको प्रतिबद्धता
जुम्ला : निर्वाचनका क्रममा बालबालिकाको प्रयोग रोक्न जुम्लामा राजनीतिक दल तथा नागरिक समाजका प्रतिनिधिबीच छलफल तथा अन्तरक्रिया गरिएको छ। निर्वाचन आचारसंहिता, २०८२ र बालअधिकार संरक्षण तथा प्रवर्द्धनका विषयमा राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला बीच अन्तरक्रिया गरिएको हो।
‘बालबालिकाको सुरक्षा : भविष्यको रक्षा’ तथा ‘सम्मानजनक बालअधिकारको सुनिश्चितता : हामी सबैको प्रतिबद्धता’ भन्ने नारासहित बालअधिकारका लागि साझा अभियानको आयोजनामा कार्यक्रम भएको हो।
कार्यक्रममा बालअधिकारका लागि साझा अभियानका अध्यक्ष टिकाराम आचार्यले विगतको तुलनामा निर्वाचनमा बालबालिकाको प्रयोग केही कमी आए पनि पूर्णरूपमा अन्त्य हुन नसकेको बताउनुभयो। राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षले निर्वाचनमा बालबालिकाको प्रयोग रोक्न प्रभावकारी रूपमा काम गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले निर्वाचन प्रचारप्रसार, सभा, जुलुस तथा राजनीतिक गतिविधिमा बालबालिकालाई सहभागी गराउने प्रवृत्ति रोक्न राजनीतिक दलहरू अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै सो कार्यक्रममा बालअधिकारका लागि साझा अभियानका उपाध्यक्ष तुलाराम पाण्डेले कार्यक्रमको उद्देश्य तथा बालअधिकार संरक्षणका लागि राजनीतिक दल र नागरिक समाजको भूमिकाबारे प्रस्तुति दिनुभएको थियो।
राजनीतिक दलका तर्फबाट बोल्दै नेपाली कम्युनिष्ट पार्टी जुम्लाका इन्चार्ज गोमा गौतम कुँवरले राजनीतिक दलहरूले नियतवश बालबालिकालाई निर्वाचनमा प्रयोग नगरे पनि कतिपय अवस्थामा अभिभावक वा परिवारका सदस्यको राजनीतिक संलग्नताका कारण बालबालिका पनि राजनीतिक गतिविधिमा सहभागी हुने गरेको बताउनुभयो।
उहाँले आगामी निर्वाचनमा बालबालिकालाई कुनै पनि प्रकारले निर्वाचन प्रचारप्रसार तथा राजनीतिक गतिविधिमा प्रयोग नगर्ने प्रतिबद्धता राजनीतिक दलहरूको तर्फबाट व्यक्त गर्नुभयो।
आचारसंहितामा बालबालिकाको प्रयोग निषेध निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ ले निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन स्पष्ट रूपमा निषेध गरेको छ। आयोगले राजनीतिक दलहरूलाई दिएको ६४ बुँदे निर्देशनको बुँदा नम्बर ४४ मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ।
यसैगरी, बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेको व्यक्तिलाई बालबालिका मानिन्छ।
त्यसैले बालबालिकालाई निर्वाचनका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, प्रचारप्रसार वा अन्य निर्वाचनसम्बन्धी गतिविधिमा सहभागी गराउनु आचारसंहिताको व्यवस्थाविपरीत हुन सक्छ। निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भए प्रकृति र गम्भीरताअनुसार जरिवाना, उम्मेदवारी रद्दलगायतका कारबाही हुन सक्ने जनाएको छ।
राजनीतिक दललाई प्रतिबद्धता हस्तान्तरण
कार्यक्रम जुम्लामा क्रियाशील विभिन्न राजनीतिक दल, निर्वाचन कार्यालय, नागरिक समाज तथा सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूलाई निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने सम्बन्धी प्रतिबद्धता हस्तान्तरण समेत गरिएको आयोजकले जनाएको छ।
बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र अधिकारलाई प्राथमिकतामा राख्दै निर्वाचनलाई बालमैत्री तथा बालअधिकारमैत्री बनाउन राजनीतिक दल, उम्मेदवार, अभिभावक, नागरिक समाज र निर्वाचनसँग सम्बन्धित निकाय सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो ।









