सिंजाको विकासमा कर्णाली सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाही
जुम्ला : प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले सिंजाको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
सिंजा गाउँपालिकामा पुग्नुभएका मुख्यमन्त्री शाहीले सिंजा सभ्यताको संरक्षण तथा प्रवर्द्धन गर्नु सरकारको दायित्व भएकाले यसको खोज, अनुसन्धान र संरक्षणमा विशेष जोड दिन आवश्यक रहेको बताउनुभयो।
उहाँले सिंजा सभ्यताका ऐतिहासिक भग्नावशेषको संरक्षण महत्वपूर्ण विषय भएकाले यसका लागि संघीय तथा प्रदेश सरकारले प्राथमिकताका साथ काम गर्नुपर्ने धारणा राख्नुभयो। साथै, सिंजाको आधुनिक विकासलाई समेत प्रदेश सरकारले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “यस वर्षको बजेट आइसकेको छ। आगामी बजेटमा गाउँपालिकाले दिएका सुझाव र मागलाई प्राथमिकतामा राखिनेछ।”
सिंजा गाउँपालिकाले यहाँका मुख्य सडकको स्तरोन्नतिका लागि आवश्यक बजेट माग गर्दै मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएको छ। गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले मुख्यमन्त्री शाहीलाई स्वागत गर्दै सिंजाको विकास निर्माणलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
अध्यक्ष धितालले धितालिहीबाट वडा नम्बर ५ र ६ जोड्ने सडक, केदारनाथ जोड्ने सडक, नराकोट–बामालिका सडकलगायतका सडकको स्तरोन्नतिका लागि बजेट व्यवस्था गर्न माग गर्नुभएको छ। साथै, अन्य विकास निर्माणका कामलाई समेत प्राथमिकता दिन आग्रह गर्दै गाउँपालिकाले ज्ञापनपत्र बुझाएको हो।
यसैगरी, चुलेलगाउँ–धापा–कनकासुन्दरी सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै कामलाई शीघ्र अघि बढाउनसमेत माग गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष तीर्थ वडले जानकारी दिनुभयो।
अध्यक्ष वडका अनुसार नेपाली भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजाको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्न खोज, अनुसन्धान र संरक्षणका कामलाई प्राथमिकता दिनसमेत मुख्यमन्त्री शाहीसँग आग्रह गरिएको छ।
गाउँपालिकाले सिंजामा आगामी पाँच वर्षमा सञ्चालन गरिने विकास निर्माणका योजनाका विषयमा समेत मुख्यमन्त्री शाहीलाई जानकारी गराएको थियो। मुख्यमन्त्री शाहीले सिंजामा सुरु भएका ठोस विकासका कामको प्रशंसा गर्दै अधुरा योजनालाई आगामी बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो।
उहाँले नाग्म–गमगढी सडकको अवस्था अझै सुधार हुन नसकेको भन्दै सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल गर्ने बताउनुभयो।
मुख्यमन्त्री शाहीले नाग्म–गमगढी राजमार्गको अवलोकन गर्नुका साथै गृह जिल्ला मुगु पुगेर विकास निर्माणका विषयमा समेत जानकारी लिनुभएको थियो। उहाँले मुगुको विकास निर्माणमा जोड दिँदै संघीयता सफल बनाउन तीनै तहका सरकारबीच सहकार्य अत्यन्त आवश्यक रहेको बताउनुभयो।
मुख्यमन्त्री शाहीसँगै कर्णाली प्रदेशका प्रमुख सचिव राधिका अर्याल पनि मुगु–सिंजा हुँदै सुर्खेत फर्किनुभएको छ। मुख्यमन्त्री शाहीलाई जुम्ला, कालिकोट र मुगुका नागरिकले विभिन्न स्थानमा स्थानीय विकास, समृद्धि तथा पूर्वाधार निर्माणसँग सम्बन्धित माग र सुझाव राखेका थिए।









