प्रविधि र परिवर्तन: जुम्लाको पहिचान, संघर्ष र सम्भावना

जुम्ला  : जुम्ला  सधै विशेष पहिचान बोकेको भूभाग हो । प्राकृतिक सौन्दर्य, संस्कृति, मौलिकता र आत्मसम्मानले भरिएको एक जीवित इतिहास। तर विडम्बना, विगतमा यहाँको जीवन निकै कठिन थियो। एउटा सामान्य आवश्यकता पूरा गर्न पनि जनताले लामो दूरी पैदल हिँड्नुपर्थ्याे, दिनौँ लगाएर सामान ओसार्नुपर्थ्याे, अनि कहिलेकाहीँ त एउटा गन्तव्य पुग्न सयाैँ जोर जुत्ता च्यातिन्थ्यो।

तर अहिले समय फेरिएको छ। फरक के हो भने – उहिले प्रविधि थिएन, अहिले छ। जीवनशैली बद्लिएको छ, सूचना प्रवाह सहज भएको छ, र जुम्ला अहिलेको डिजिटल युगसँग जोडिएको छ। मोबाइल, इन्टरनेट, टेलिकम, अनलाइन बैंकिङदेखि सामाजिक सञ्जालसम्मका प्रविधिहरूले जुम्लालाई अब संसारभरबाट हेर्न, चिन्ह्न, बुझ्न सकिने बनाएको छ। आज जुम्लाको हिममल ,बस्ती, संस्कृति र संघर्षको कथा केवल गाउँघरमा सीमित छैन – विश्वभरका नेपाली र विदेशीहरूले पनि हेर्न सक्ने, बुझ्न सक्ने अवस्थामा पुगेका छन्।

यो परिवर्तन आफैंमा चमत्कारी लाग्न सक्छ, तर यसको पृष्ठभूमि बुझ्न जनयुद्ध र जनआन्दोलनको सन्दर्भमा जानुपर्छ। जुम्लाले राजनीतिक परिवर्तनका दिनहरूमा निकै ठूलो मूल्य चुकाएको छ ।यहाँका जनता, युवाहरू, महिलाहरूले समानता, अधिकार र सम्मानका लागि संघर्ष गरेका छन्। त्यसै संघर्षको जगमा आजको सन्दर्भ निर्माण भएको हो। जनयुद्ध, जनआन्दोलन र त्यसपछिको संघीयताको बहसले विकेन्द्रित शासनको बाटो खोल्यो, जसले विकट क्षेत्रका लागि विकास सम्भावना ल्यायो।

अब प्रविधिको प्रयोग गरेर हामी जुम्लाको परिचयलाई विश्वभर फैलाउन सक्छौं। जुम्लाको उत्पादन, पर्यटन, भाषा, संस्कृति, शिक्षा र कला– यी सबै विषयहरू अब डिजिटल प्लेटफर्ममार्फत प्रस्तुत गर्न सकिन्छ। इन्टरनेटबाट व्यापार गर्न सकिन्छ, स्थानीय खबर संसारभर पुर्याउन सकिन्छ, र आफ्ना कुरा बोल्न सकिन्छ।

जसरी पहिले हामी गाउँबाट जिल्ला पुग्न सयाैँ दिन हिँड्थ्यौं, अहिले एक क्लिकमा काठमाडौं, दिल्ली वा न्यूयोर्क पुग्न सक्छौं। परिवर्तनको मूल हो । प्रविधिको पहुँच, तर त्यसको जग हो । संघर्ष र पहिचानको खोजी। त्यसैले अहिलेको परिवर्तनलाई सहर्ष स्वीकार्नुपर्छ, अनि यसलाई अझै सबल बनाउन पनि जुट्नुपर्छ।
प्रविधिको विकास केवल सुविधा होइन, यो विगतका संघर्षको उपलब्धि हो। अब हाम्रो कर्तव्य बनिन्छ ।यिनै प्रविधिहरूको माध्यमबाट जुम्लाको आवाज, सम्भावना र सन्देशलाई विश्वभर फैलाउनु।