जुम्लाको चन्दननाथ मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्त्व समेटिएको ब्रोसर विमोचन
जुम्ला : जुम्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको चन्दननाथ मन्दिरको ऐतिहासिक महत्त्व, धार्मिक मान्यता, स्थापना कथा र पूजापद्धतिबारे जानकारी समेटिएको ब्रोसर विमोचन गरिएको छ।
विजयादशमी अर्थात् बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा चन्दननाथ र भैरवनाथ मन्दिरमा परम्परागत रूपमा लिङ्गा खडा गर्ने कार्यक्रममा ब्रोसर विमोचन गरिएको हो। संघीय संसद् ज्ञानेन्द्रबहादुर शाही, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यलगायत सरोकारवालाले संयुक्त रूपमा ब्रोसर विमोचन गरेका हुन्।
जिल्ला समन्वय अधिकारी रोमबहादुर महतका अनुसार चन्दननाथ मन्दिरको इतिहास, धार्मिक महत्त्व र संस्कृतिसम्बन्धी जानकारी समेटिएको यस्तो ब्रोसर पहिलोपटक प्रकाशन गरिएको हो। मन्दिर व्यवस्थापन समितिसँगको समन्वयमा संस्कृति तथा धार्मिक विषयका जानकार रमानन्द आचार्य, चित्रलाल श्रेष्ठ, निवर्तमान मन्त्री माधव चौलागाईंसहितको सहयोग र आफ्नो नेतृत्वको टोलीको पहलमा ब्रोसर तयार पारिएको उनले बताए।
मन्दिरको इतिहास र धार्मिक महत्त्व समेटियो
ब्रोसरमा कर्णाली प्रदेशको जुम्लास्थित खलंगा बजारमा रहेको चन्दननाथ मन्दिरको ऐतिहासिक पृष्ठभूमि, धार्मिक विश्वास, मन्दिर स्थापनासम्बन्धी किंवदन्ती, दैनिक पूजापद्धति तथा वार्षिक धार्मिक गतिविधिबारे जानकारी समेटिएको छ।
ब्रोसरमा चन्दननाथ मन्दिरलाई गुरु दत्तात्रेयको पादुका रहेको प्रसिद्ध सिद्धपीठका रूपमा उल्लेख गरिएको छ। गुरु दत्तात्रेयलाई ब्रह्मा, विष्णु र शिवको त्रिमूर्ति अवतार तथा आदि गुरुका रूपमा पुज्ने धार्मिक मान्यता रहेको विषय पनि समेटिएको छ।
त्यस्तै, मन्दिर परिसरमा रहेका बटुक भैरवनाथ, हनुमान, अखडा देवीलगायतका धार्मिक स्थल, नित्य पूजा, आरती, अखण्ड ज्योति, धुनी तथा विभिन्न चाडपर्वमा गरिने विशेष पूजाआजाबारे पनि जानकारी दिइएको छ।
मन्दिर स्थापनासम्बन्धी किंवदन्ती, सिद्ध चन्दननाथ र उनका शिष्य लछालकृतिसँग जोडिएका जनविश्वास तथा जुम्लामा मार्सी धान खेतीको सुरुवातसम्बन्धी कथालाई समेत ब्रोसरमा समेटिएको छ।
ऐतिहासिक दस्ताबेज तयार गर्ने प्रयास
जिल्ला समन्वय अधिकारी महतका अनुसार यसअघि चन्दननाथ मन्दिरको इतिहास र संस्कृतिबारे जानकारी समेटिएको यस्तो प्रकारको दस्ताबेज तयार भएको थिएन। पहिलोपटक ब्रोसर प्रकाशन गरेर मन्दिरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने प्रयास गरिएको उनले बताए।
उनले ब्रोसरमा समेटिएका विषयवस्तुबारे सम्बन्धित जानकार, विज्ञ तथा सरोकारवालालाई आवश्यक सल्लाह, सुझाव र सुधारका विषय उपलब्ध गराउन आग्रहसमेत गरेका छन्।
महतका अनुसार आगामी दिनमा चन्दननाथ तथा भैरवनाथ मन्दिरको इतिहास, धार्मिक परम्परा र सांस्कृतिक महत्त्वबारे थप विस्तृत पुस्तक प्रकाशन गर्ने योजना रहेको छ।
चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति, खलंगा बजार जुम्लाद्वारा प्रकाशित ब्रोसरमा मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्त्वबारे जानकारी उपलब्ध गराउने उद्देश्य राखिएको छ। यसले जुम्लाको मौलिक संस्कृति, धार्मिक परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।









