बाढीपीडितका लागि छायाँनाथ रारा नगरपालिकाद्वारा ८ लाख २३ हजार रुपैयाँ सहयोग

मुगु :रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि मुगुको छायाँनाथ रारा नगरपालिकाले ८ लाख २३ हजार २४३ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

नगरपालिकाले कर्मचारीहरूको तलबबाट कट्टी गरिएको रकम र विपद् व्यवस्थापन कोषबाट थप रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

नगरपालिकाका अनुसार कर्णाली प्रदेश सरकारको २०८३ भदौ १५ गतेको सचिवस्तरीय निर्णयअनुसार तहविहीन वा सोसरहका कर्मचारीबाट दुई दिन, सहायकस्तर (चौथो र पाँचौँ तह) का कर्मचारीबाट तीन दिन तथा अधिकृतस्तर वा सोसरहका कर्मचारीबाट पाँच दिनको सुरु तलब स्केलबराबरको रकम कट्टी गरिएको थियो।

कर्मचारीहरूको तलबबाट कट्टी गरिएको ७ लाख २३ हजार २४३ रुपैयाँ र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थप गरिएको एक लाख रुपैयाँ गरी कुल ८ लाख २३ हजार २४३ रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नम्बर ११३०१००००३७६२००१ मा जम्मा गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु पौडेलले २०८३ असोज २३ गते जारी गरेको सूचनामार्फत उक्त रकम कोषमा जम्मा गरिएको जानकारी दिएका हुन्।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ।

सम्बन्धित समाचार