जुम्लाका आठै तहमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश भेला सम्पन्न (फोटो फिचर)
जुम्ला । जुम्लामा नेपाली कम्युनिष्ट पार्टीले जिल्लाका सबै आठ स्थानीय तहमा एकता सन्देश भेला सम्पन्न गरेको छ। जिल्ला भेलाको निर्णयअनुसार चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा भेला सम्पन्न भएको पार्टीका नेता नवराज न्यौपानेले जानकारी दिनुभयो।
उहाँका अनुसार पार्टीको तालिकाअनुसार जिल्लाभर भव्य रूपमा एकता सन्देश कार्यक्रम सम्पन्न गरिएको हो। नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहितका १० दल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले जुम्लामा मौसमी प्रतिकूलता पनि विचार गर्दै छिटो भेला सम्पन्न गरेको बताइएको छ।
नेपाली कम्युनिष्ट पार्टी जुम्लाले मंसिर ५ गते—शान्ति सम्झौता दिवसका अवसरमा—जिल्ला एकता सन्देश भेला आयोजना गरेको थियो। स्थानीय तहमा केन्द्रीय, प्रदेश तथा पालिका तहका नेताहरूले सम्बोधन गरेका थिए। पार्टीले आठै तहका भेलाका लागि नेतृत्व पनि खटाएको थियो।
एकता भेलामा केन्द्रीय नेता नरेश भण्डारी, गोमा कुँवर, पदमबहादुर रोकाया, नरेन्द्रनाथ योगी, विरबहादुर कुँवर, नवराज न्यौपाने, दलबहादुर जिसी, लक्ष्मीकन्या बुढा, हिमालयन खत्री, अमरजंग शाहीलगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो।








