रारातालमा पर्यटकको घुइँचो : प्राकृतिक सौन्दर्यसँगै राजस्वमा वृद्धि

मुगु – दशैं–तिहार सकिएसँगै कर्णाली प्रदेशको मुगुस्थित प्रसिद्ध राराताल अहिले आन्तरिक र बाह्य पर्यटकले खचाखच भरिएको छ। देशकै सबैभन्दा ठूलो र गहिरो ताल मानिने रारा कर्णालीको पर्यटन मुटुका रूपमा चिनिन्छ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार साउनदेखि असोज महिनासम्म २ हजार ३४७ जना आन्तरिक र २७ जना विदेशी पर्यटक रारा पुगेका छन्। सो अवधिमा प्रवेश शुल्कमार्फत २ लाख २९ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको छ। यद्यपि गत वर्षको सोही अवधिमा १६५७ आन्तरिक र ३५३ विदेशी पर्यटक आएका थिए र २८ लाख ५३ हजार ९ सय रुपैयाँ राजस्व संकलन भएको थियो।

निकुञ्जका वरिष्ठ गेम स्काउट हेमराज रोकायाका अनुसार पछिल्लो समय दैनिक ५० देखि २०० सम्म पर्यटक रारा पुग्ने गरेका छन्। सडक पहुँच सुधार, व्यवस्थित होटल तथा होमस्टे सञ्चालन र प्रचार–प्रसारले पर्यटक आकर्षण बढाएको उनले बताए।

काठमाडौं बुढानिलकण्ठ–१० का पर्यटक राजु राईले रारा पुगेपछि यात्राको थकानै बिर्सिएको बताए। “तीन दिनको गाडी यात्रा निकै गाह्रो लाग्यो, तर रारा देखेपछि सबै पीडा बिर्सिएँ,” उनले भने। त्यस्तै, काठमाडौंबाट आएकी उषा अधिकारीले राराको प्राकृतिक सुन्दरताले आफू मोहित भएको बताउँदै भौतिक पूर्वाधार सुधारमा अझ ध्यान दिनुपर्ने माग गरिन्।

पर्यटकका अनुसार भाद्र, असोज र कार्तिक महिना रारा भ्रमणका लागि सबैभन्दा उपयुक्त मौसम हुन्। दशैं–तिहारताका मुग्लिन–नारायणघाट सडक बन्द हुँदा केही समय पर्यटक घटे पनि हाल दैनिक हरेक होटलमा ५०–६० पर्यटक बस्ने गरेका छन्। एकै दिनमा ४ सयभन्दा बढी पर्यटक रारा पुगेको रेकर्ड पनि रहेको होटल व्यवसायी बताउँछन्।

रारा पुग्ने अधिकांश पर्यटकले मुर्मा टप, चुचेमारा, चमेरा गुफा, महादेव मन्दिर, नीलिचौर, सल्यरी, छाप्रु महादेव लगायतका नजिकका आकर्षक स्थल पनि भ्रमण गर्ने गरेका छन्।

रारा राष्ट्रिय निकुञ्जले आगामी दिनमा पर्यटकमैत्री पूर्वाधार निर्माण, प्रचार–प्रसार कार्यक्रम र नयाँ गन्तव्य विकासमार्फत राराको पर्यटन सम्भावनालाई अझ विस्तार गर्ने योजना बनाएको जनाएको छ।

प्राकृतिक सुन्दरताको खानी रारा, अहिले केवल मुगुको गौरव मात्र होइन, सम्पूर्ण कर्णालीको आर्थिक र पर्यटनिक आशा बन्दै गएको छ।