आमाको सम्झनामा चौतारा सहित गेट निर्माण
मुगु:मुगु जिल्लाका पूर्व धावक अक्कल बोहोराले आफ्नी दिवंगत आमाको सम्झनामा चौतारा सहितको गेट निर्माण गर्नुभएको छ। बाल्यकालमै जन्मदिने आमा गुमाउनुपरेका बोहोराले आमाको माया कस्तो हुन्छ भन्ने अनुभूति आमाको काखबाट पाउन नपाएकाले उहाँको स्मृतिमा सामाजिक कार्य गर्दै आउनुभएको हो।
छायाँनाथ रारा नगरपालिका–१३, थार्प गाउँमा जन्मनुभएका अक्कल बोहोराले सञ्चालन गर्दै आएको अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा आफ्नी स्वर्गीय आमा गोरीकला सावंतको सम्झनामा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १०, ११ र १२ हुँदै धार्मिक तीर्थस्थल ऋणमोक्ष प्रस्थान गर्ने मुख्य प्रवेशद्वार चरप गाउँमा चौतारा सहितको गेट निर्माण गरिएको हो।
करिब ४ लाख ५० हजार रुपैयाँको लागतमा सिमेन्ट, सरिया, ढुंगा र गिट्टी प्रयोग गरी ९ फिट उचाइ र ९ मिटर लम्बाइको गेट तथा चौतारा निर्माण गरिएको फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराले जानकारी दिनुभयो।
फाउन्डेसनका अनुसार, उक्त बाटोबाट दैनिक एक दर्जनभन्दा बढी स्थानीय बासिन्दा आवतजावत गर्ने गरेका छन् भने विशेषगरी साउन महिनाको जनैपूर्णिमामा ऋणमोक्ष धार्मिक यात्रामा जाने मुख्य मार्ग भएकाले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। साथै, निर्माण कार्यमा सोही वडाका स्थानीय नागरिकलाई रोजगारी दिइएकाले उनीहरूको घरखर्च चलाउन समेत सहयोग पुगेको बताइएको छ।
साबिकको सोवा गाविस तथा हाल छायाँनाथ रारा नगरपालिका वडा नम्बर १०, ११ र १२ का दर्जनौं बस्तीका नागरिकहरू यही चौतारामा थकान मेटाउने र गेट हुँदै आवतजावत गर्ने गरेका छन्। मुगु जिल्लाको प्रमुख धार्मिक तीर्थस्थल ऋणमोक्ष यही बाटो भएर जाने भएकाले निर्माण गरिएको गेटले थप चर्चा पाउने अपेक्षा गरिएको छ।
चौतारा तथा गेट निर्माणमा स्थानीयबाट श्रमदान भने नभएको र सम्पूर्ण लागत अक्कल कोपिला फाउन्डेसनबाट व्यहोरीएको जनाइएको छ। यस सामाजिक कार्यका लागि फाउन्डेसन परिवार तथा अध्यक्ष अक्कल बोहोराप्रति स्थानीयले धन्यवाद व्यक्त गरेका छन्।
छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० का देविकृष्ण ऐडीका अनुसार, अक्कल कोपिला फाउन्डेसनले सरकारले तीनै तहबाट गर्न नसकेका धेरै सामाजिक तथा पूर्वाधारसम्बन्धी कामहरू गर्दै आएको छ। जसअन्तर्गत विद्यालयमा खेलमैदान निर्माण, गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी वितरण, जाडोयाममा न्यानो कपडा सहयोग, मसाल घाट, मन्दिर, खानेपानी, बाटो निर्माण, गरिब, असहाय तथा दैवी प्रकोपमा परेकालाई सहयोग लगायतका कार्यहरू समेटिएका छन्।








