शनिबारे श्रमदान अभियान अन्तर्गत रारा बहुमुखी क्याम्पसमा १०२ स्याउका बिरुवा रोपण

मुगु: मुगु जिल्लाको एक मात्र नगरपालिका छायानाथ–रारा नगरपालिकाका मेयर विष्णु कुमार भामको नेतृत्वमा सञ्चालन हुँदै आएको शनिबारे श्रमदान अभियान अन्तर्गत माघ २४ गते शनिबार रारा बहुमुखी शिक्षा क्याम्पस परिसरमा १०२ वटा स्याउका बिरुवा रोपिएको छ।

निरन्तर रूपमा अघि बढाइएको यो श्रमदान अभियान नगरको सामाजिक तथा वातावरणीय रूपान्तरणको बलियो आधार बन्दै गएको छ। मेयर भामको नेतृत्वमा नगरभित्र सयौँ धारा, पाटी तथा यात्रु र स्थानीयवासीका लागि विश्रामस्थलहरू निर्माण हुँदै आएका छन्। विकास केवल बजेट र योजनाबाट मात्र सम्भव हुँदैन, नागरिक सहभागिता र जिम्मेवारी अपरिहार्य हुन्छ भन्ने सन्देश यस अभियानले स्पष्ट रूपमा दिएको छ।

यसै अभियानको निरन्तरतास्वरूप शनिबार रारा बहुमुखी क्याम्पस, नाउर मुगु परिसरमा स्याउका १०२ वटा बिरुवा रोपिएको हो। उक्त श्रमदान कार्यक्रममा नगरप्रहरीको टोली तथा क्याम्पस प्रमुख लालकेशर रोकायाको सक्रिय सहभागिता रहेको थियो।

मेयर विष्णु कुमार भामले वातावरण संरक्षण, आत्मनिर्भर कृषि र भविष्यप्रतिको सामूहिक जिम्मेवारीको प्रतीकका रूपमा यस किसिमका कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताउनुभयो।

क्याम्पस प्रमुख लालकेशर रोकायाले मेयर भामप्रति आभार व्यक्त गर्दै हिमाली क्षेत्रको आर्थिक सम्भावनासँग स्याउ खेती गहिरो रूपमा जोडिएको उल्लेख गर्नुभयो। शैक्षिक संस्थाको परिसरमै फलफूलका बिरुवा रोपण गर्नुले विद्यार्थीहरूमा श्रमप्रतिको सम्मान, प्रकृतिप्रतिको जिम्मेवारी र उत्पादनमुखी सोच विकास गर्न सहयोग पुग्ने उहाँको विश्वास छ। यसले “पढाइसँगै व्यवहारिक सिकाइ” को अवधारणालाई व्यवहारमा उतारेको पनि उहाँले बताउनुभयो।

मेयर भामका अनुसार स्थानीय सरकार योजना बनाउने कक्षमै सीमित नरही आफैँ मैदानमा उत्रिएर उदाहरण प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता रहेको छ। श्रमदान, हरियाली र सामुदायिक सहभागितामार्फत दिगो विकास सम्भव छ भन्ने सन्देश यो अभियानले दिएको छ, जुन अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी बनेको छ।विकास तब दिगो बन्छ, जब नेतृत्वले बोली मात्र होइन, कामबाट उदाहरण देखाउँछ।