सात महिनामै १ करोड ७ लाख बीमा शुल्क संकलन गर्न एशियन लाईफ मुगु सफल

मुगु:एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुगु शाखाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सात महिनामै १ करोड ७ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ।

पशु चौपाया, फलफूल, तरकारी, अन्नबालीलगायत विभिन्न क्षेत्रको बीमा गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको सन्दर्भमा, मुगु जिल्लामा लामो समयदेखि सेवा दिँदै आएको एशियन लाईफले उल्लेखनीय प्रगति हासिल गरेको हो। कम्पनीले यस आर्थिक वर्षमा वार्षिक १ करोड ५० लाख रुपैयाँ बीमा शुल्क संकलन गर्ने लक्ष्य लिएकोमा माघ महिनाको तेस्रो साता नपुग्दै १ करोड नाघेको हो।

यस उपलब्धिको अवसरमा शुक्रबार मुगु जिल्लामा क्रियाशील अभिकर्ताहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा क्रियाशील अभिकर्ता तथा बिजनेस म्यानेजर दान बहादुर बुढाको हातबाट केक काटी खुसी साटासाट गरिएको थियो।

कार्यक्रममा जानकारी दिइएअनुसार, गत आर्थिक वर्षमा कम्पनीले २१५ जना बीमितबाट १ करोड १९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो। चालु आर्थिक वर्षमा भने हालसम्म १३२ जना बीमितमार्फत १ करोड ७ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क संकलन भइसकेको छ।

हाल एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुगु शाखामा १५० जना अभिकर्ता क्रियाशील रहेका छन्। शाखाबाट एशियन सावधिक, सुखी जीवन बीमा, नवरत्न बीमा, सुनौलो बाल भविष्यलगायत २० भन्दा बढी प्रकारका बीमा योजना सञ्चालनमा रहेका छन्।

कार्यक्रममा बोल्दै मुगु शाखाका प्रमुख मुकेश शाहीले आगामी दिनमा सबै अभिकर्तालाई अझ सक्रिय भएर काम गर्न र आफ्ना डाउनलाइन विस्तार गर्न आग्रह गरे। उनले बीमा जोखिम व्यवस्थापनको महत्वपूर्ण औजार भएको उल्लेख गर्दै अनिश्चित जोखिम र दुर्घटनाबाट हुने आर्थिक क्षतिलाई बीमामार्फत सुरक्षित गर्न सकिने बताए।

बिजनेस म्यानेजर दान बहादुर बुढाले अभिकर्ता पेशाबाट आम्दानीसँगै सामाजिक सुरक्षामा योगदान पुग्ने उल्लेख गरे। उनले जीवन बीमाले विपत्तिको समयमा आर्थिक सुरक्षा प्रदान गर्नुका साथै बचत, लगानी, पूँजी निर्माण र कर छुटजस्ता फाइदा दिने भएकाले यसको महत्व अत्यन्त ठूलो रहेको बताए।

कार्यक्रममा सहभागी अभिकर्ताहरूले बीमाका फाइदा, चुनौती र सम्भावनाबारे छलफल गर्दै आगामी दिनमा बीमा सेवाको पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।