संविधानको रक्षा र सुधार आवश्यकतामा जोड (फाेटाेफिचर )
जुम्ला — नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीको संयुक्त आयोजनामा संविधान दिवस जुम्लाको कान्जेरुवा होटलमा भव्यताका साथ मनाइयो। कार्यक्रममा प्रमुख वक्ताहरूले जनताको बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा र समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिएका थिए।
नेकपा (माओवादी केन्द्र) जुम्लाका इन्चार्ज नरेश भण्डारीले अबको पहिलो ऐजेन्डा कार्यकारी प्रधानमन्त्रीसहित संसदका मन्त्रीहरूलाई जनप्रतिनिधिबाट मात्र नभई विज्ञहरूलाई समेत मन्त्री बनाउनुपर्ने बताएका छन्। उनले माओवादीसँग अहिले संसदमा बहुमत नभए पनि महिला, दलित र निमुखा वर्गका अधिकारका लागि माओवादीकै नेतृत्वमा संविधान बनेको स्मरण गराए।
भण्डारीले दस वर्षअघि बनेको संविधानले जनताको धेरै माग सम्बोधन गरे पनि अझै वास्तविक आवश्यकताअनुसार कानुन बन्न बाँकी रहेको बताए। “प्रचण्ड र अन्य दलका नेताहरूलाई एउटै खाडलमा हाल्नु गलत हो,” उनले भने। “माओवादी सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दा प्रतिगमनकारी शक्तिहरू मिलेर सरकार ढालेका थिए। तर, दलाल र भ्रष्टाचारीहरूको भविष्य समाप्त भएको छ।”
उनले समाहित जनमुक्ति सेनाको योगदानलाई स्मरण गर्दै, गणतन्त्रको पक्षमा सेना भित्रकै विद्रोही टोलिले व्यवस्था जोगाएको बताए। “यो संविधान रगतले लेखिएको हो। खारेज होइन, रक्षा हुनुपर्छ,” उनले चेतावनी दिए। साथै, सबै पुरानो कुरा नराम्राे नहुने र सबै नयाँ कुरा राम्राे नहुने भन्दै भण्डारीले सकारात्मक सोच र दृष्टिकोण आवश्यक भएको बताए।
त्यस्तै, एकीकृत समाजवादी पार्टीका अध्यक्ष राजबहादुर खत्रीले कम्युनिस्टहरूभित्र सुधार (सुध्दी) जरुरी रहेको उल्लेख गरे। उनले रोजगारीको अवसर नपाउँदा युवा पुस्ता विदेशिन बाध्य भएकोमा चिन्ता व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले जनताको बलिदानी र संघर्षबाट आएको संविधानलाई जोगाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए।








