ईतिहासकाे पानामा धकेलिएकाे राजतन्त्र फर्किनु हुँदैन : जनआन्दोलनकाे उपलब्धि जोगाऔं

नेपालकाे इतिहासमा परिवर्तन कुनै सहज तरिकाले आएको छैन। प्रत्येक ठूलो परिवर्तन जनताको आँसु, पसिना र बलिदानले सम्भव भएको छ। २०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रलाई स्थापना गर्‍याे। गणतन्त्र आज नेपाली जनताको लामो संघर्षको परिणाम मात्र नभई नागरिक अधिकारको मेरुदण्ड बनेको छ।

किन राजतन्त्र फर्कनु हुँदैन?

इतिहासकाे गलत दोहोरिनु: राजतन्त्रकालमा जनता शाही दरबारको इच्छामा निर्भर थिए। नागरिक स्वतन्त्रता सीमित थियो, प्रेसमाथि नियन्त्रण थियो, र राजनीतिक असमानता गहिरो थियो। फेरि त्यही प्रणाली फर्काउनु भनेको इतिहासलाई उल्ट्याउनु मात्र हो।
गणतन्त्रकाे उपलब्धि:
सार्वभौमिक सत्ता नागरिकमा गएको छ।महिला, दलित, आदिवासी, जनजाति र पिछडिएका वर्गले राजनीतिक सहभागिता पाएका छन्।संघीय संरचनाले गाउँ–गाउँमा अधिकार पुर्‍याएको छ।स्वतन्त्र प्रेस, स्वतन्त्र न्यायपालिका र अभिव्यक्तिको स्वतन्त्रता नागरिकले उपभोग गरिरहेका छन्।
जनआन्दोलनको चेतावनी: जनताले ठूलो बलिदान दिएर ल्याएको व्यवस्था खोस्न खोज्दा पुनः ठूलो आन्दोलन भड्किन सक्छ। जनता आफ्नो अधिकार गुमाउन तयार छैनन्।

राजतन्त्रकाे कु र असफलता

राजतन्त्रको इतिहास हेर्ने हो भने,प्रत्यक्ष शासनले नागरिकलाई अधीनमा राख्यो।दरबारभित्रैको संघर्षले देश अस्थिर बनायो।राजनीतिक दलमाथि प्रतिबन्ध, अभिव्यक्तिमाथि नियन्त्रण, नागरिक स्वतन्त्रतामाथि अंकुश,यी सबै राजतन्त्रका चिनारी थिए।
गणतन्त्र अपूर्ण छ, समस्याहरू छन्, तर समाधान राजतन्त्र होइन। गणतन्त्रलाई अझ सबल, पारदर्शी र जवाफदेही बनाउनैपर्छ। इतिहास पल्टाएर हेर्ने हो भने, राजतन्त्र फर्काउने प्रयासले मुलुक फेरि अशान्ति र आन्दोलनतर्फ धकेल्छ। त्यसैले राजतन्त्र फर्काउनु नेपाल र नेपालीका लागि विनाशकारी हुनेछ।गणतन्त्रलाई सुधारौं, तर उपलब्धि गुमाउँदैनौं। यही बाटो स्थायी शान्ति र समृद्धिको आधार हो।

सम्बन्धित समाचार