आन्दोलनमा ३६ को ज्यान, हजारौँ घाइते : युवा–विद्यार्थी संगठनहरूको संयुक्त विज्ञप्ति

जुम्ला : हालै जेन जेनरेशन (Gen Z) को आव्हानमा भएको आन्दोलनमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख प्रकट गर्दै विभिन्न युवा तथा विद्यार्थी संगठनहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

आन्दोलनको क्रममा हालसम्म ३६ जनाको मृत्यु र एक हजार भन्दा बढी घाइते भएको तथ्य सार्वजनिक गर्दै विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरिएको छ।

भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शी शासनव्यवस्था, न्याय र जवाफदेहिताका मागलाई समर्थन जनाउँदै संगठनहरूले भ्रष्टाचारका मुद्दामा प्रभावकारी अनुसन्धान गर्नुपर्ने र दोषीलाई कानुनी सजाय दिनुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि केही अवाञ्छित तत्वले विध्वंस, आगजनी, तोडफोड र लुटपाटजस्ता गतिविधि गरिरहेको भन्दै संगठनहरूले ती घटनाप्रति कडा आपत्ति जनाएका छन्। सार्वजनिक सम्पत्ति जलाइँदा समेत नेपाली सेना लगायतका सुरक्षा निकाय ‘मुखदर्शक’ बनेको आरोप लगाउँदै विज्ञप्तिमा सुरक्षा निकायको भूमिकाप्रति गम्भीर पुनरावलोकन गर्न माग गरिएको छ। साथै, स्थानीयस्तरमा टोलटोलमा सुरक्षा समिति गठन गरी विध्वंसकारी गतिविधि रोक्न समुदाय र स्थानीय सरकारलाई अपिल गरिएको छ।

संगठनहरूले राजनीतिक निकास लोकतान्त्रिक मूल्य र संविधानको सीमाभित्रै खोजिनुपर्ने उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई कमजोर नबनाउन सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्।

विज्ञप्तिमा युवाहरूलाई संयमित, सजग रहँदै लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको संरक्षणमा सक्रिय रहन अपिल गरिएको छ।

संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने नेतामध्ये नेपाल तरुण दलका अध्यक्ष हेम बहादुर बुढयापा,वाईसीएल जिल्ला ईन्चार्ज हरिकृष्ण रावत र अध्यक्ष खगेन्द्र कार्की , राष्ट्रिय युवा संघका अध्यक्ष ईश्वर महत, युवा संघ नेपालका अध्यक्ष मेघराज देवकोटा, नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति निराजन उपाध्याय, अनेरास्ववियूका अध्यक्ष तपेन्द्र भण्डारी, अखिल क्रान्तिकारीका प्रतिनिधि रतननाथ याेगी र अनिल जंग महत र जुम्ला बहुमुखी क्याम्पसका स्ववियू सभापति लोकेन्द्र बुढा रहेका छन्।

oplus_34