जुम्लामा दलीय संयन्त्रद्वारा शान्तिपूर्ण समाधान र संवैधानिक निकासको आह्वान

जुम्ला:जुम्लामा बसेको दलीय संयन्त्रको बैठकले पछिल्लो समय मुलुकमा उत्पन्न विषम् र असामान्य राजनीतिक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाटै समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

भाद्र २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न शहरमा भएको “जेन-जी आन्दोलन” का क्रममा भएको आगजनी, तोडफोड, आक्रमण र लुटपाटले राष्ट्रले ठूलो विनाश व्यहोर्नु परेको भन्दै विज्ञप्तीमा दुःख प्रकट गरिएको छ। उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

दलीय संयन्त्रले आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधि र क्षतिको दोषी पहिचान गरी कानूनी कारवाही गर्न माग गरेको छ। साथै सुरक्षा निकाय किन प्रभावकारी हुन नसकेको भन्नेबारे पनि सरकारसँग जवाफ माग गरेको छ।

बैठकले मुलुकको राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने स्पष्ट गर्दै सुशासन, नातावादको अन्त्य, रोजगारी सिर्जना र विकासका एजेन्डामा गम्भीर पहल गर्न राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराएको छ।

त्यसैगरी, जेन-जी आन्दोलनले उठाएका मुद्दाहरुलाई सम्मान गर्दै संविधान र संसदीय प्रक्रियाभित्र सर्वपक्षीय बैठक मार्फत समाधान खोज्नुपर्ने निष्कर्ष समेत संयन्त्रले निकालेको छ।

संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षमा सबै राजनीतिक दल एकजुट रहनुपर्नेमा जोड दिँदै विज्ञप्तीमा धमिलो पानीमा माछा मार्ने प्रवृत्तिप्रति सचेत रहन आह्वान गरिएको छ।

बैठकले अन्त्यमा सबै पुस्ता र पक्षलाई संयमता, उच्च सुझबुझ र शान्तिपूर्ण निकासतर्फ लाग्न अपिल गरेको छ।

यस प्रेस विज्ञप्तीमा नेपाली काँग्रेसका सभापति कर्ण बहादुर शाही, नेकपा (एमाले) का अध्यक्ष शान्तिलाल महत, नेकपा (माओवादी केन्द्र) का संयोजक नवराज न्यौपाने (विमुख) र नेकपा (एकीकृत समाजवादी) का मानी राजबहादुर खत्रीको हस्ताक्षर रहेको छ।